बाँके । जेन जेड आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधार गृह र एउटा कारागारबाट फरार भएका ३४० जनामध्ये १७१ जना कैदी तथा बाल बन्दीलाई पक्राउ गरिएको छ ।
सो अवधिमा अझै १६९ जना बाल बन्दी तथा कैदी बन्दी सम्पर्कमा आउन सकेका छैनन् । गत वर्ष भदौ २३ र २४ गते राति उनीहरू फरार भएका थिए ।
जिल्लाको बैजनाथ गाउँपालिकास्थित नौ बस्ता बालसुधारगृह, डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधारगृह र नौ बस्ता क्षेत्रीय कारागारबाट भागेका थिए । तीमध्ये जयन्दु बालसुधारगृहबाट भागेका ११५ जनामध्ये ६८ जना, नौ बस्ता बालसुधारगृहबाट भागेका ७८ जनामध्ये ४७ जना र क्षेत्रीय कारागार नौबास्ताबाट फरार भएका १४७ जनामध्ये ५६ जना पक्राउ परेका छन् ।
जयन्दु बालसुधारगृहका प्रमुख किशोर शर्माले आन्दोलनका समयमा सुधार गृहबाट भागेका ११५ बाल बन्दीमध्ये ६८ जना पक्राउ परेको जानकारी दिए । उनले अझै ४७ जना फरार रहेको उल्लेख गर्दै उनीहरूको खोजी कार्य जारी रहेको बताए । शर्माका अनुसार फरार भएकामध्ये केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको र केही आफैँ सुधार गृहमा फर्किएका थिए ।
नौ बस्ता बालसुधारगृहका प्रमुख श्यामबहादुर रानाले जेनजेड आन्दोलनका क्रममा सुधार गृहमा रहेका १७६ बाल बन्दीमध्ये ७८ जना भागेको बताए । सो क्रममा प्रहरीसँगको झडपमा पाँच जना बाल बन्दीको मृत्यु भएको थियो । उनले फरारमध्ये ४७ जना पक्राउ परिसकेको र ३१ जनाको खोजी भइरहेको छ ।
नौ बस्ता क्षेत्रीय कारागारबाट फरार भएका १४७ कैदीमध्ये एक वर्षको अवधिमा ५६ जना पक्राउ परेका छन् । कारागार प्रमुख दलबहादुर बस्नेतले १८ जना भारतीय नागरिकसहित ९१ जना अझै सम्पर्कविहीन भएको जानकारी दिए । आन्दोलनका बेला सो कारागारमा ५८५ कैदी रहेका थिए ।






