काठमाडौँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को प्रमुख सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी संगठनको नेतृत्वबाट हटाउँदै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै कार्कीलाई प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय भएको बताएका छन्।
नवनियुक्त प्रहरी महानिरीक्षक केसी यसअघि नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत थिए। मन्त्रिपरिषद्को निर्णयसँगै उनले प्रहरी संगठनको नेतृत्व सम्हाल्ने भएका छन्।
पछिल्लो समय सञ्चारमाध्यम र पत्रकारहरूमाथि प्रहरीले गरेको धरपकडका घटनालाई लिएर कार्कीको आलोचना हुँदै आएको थियो। सञ्चारगृहमा प्रहरीको उपस्थितिलगायतका घटनापछि उनको नेतृत्वमाथि सार्वजनिक प्रश्न उठेका थिए।
कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाउने विषय केही समयदेखि चर्चामा थियो। यसबीच सरकारले उनको जिम्मेवारी परिवर्तन गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको हो।




