काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका करिब डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार प्रदेश सरकार तथा विभिन्न सरकारी संयन्त्रमार्फत संकलन गरिएको तथ्यांकका आधारमा प्रभावित जनसंख्याको प्रारम्भिक आँकलन गरिएको हो।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका २५ जनामा झाडापखालाको समस्या देखिएको जानकारी दिए।
उनका अनुसार हालसम्म अन्य गम्भीर स्वास्थ्य समस्या वा संक्रमणजन्य रोगको व्यापक प्रकोप देखिएको छैन।
सचिव देवकोटाले बाढी तथा विपदबाट स्वास्थ्य क्षेत्रले महत्वपूर्ण पाठ सिकेको उल्लेख गर्दै आगामी दिनमा निर्माण हुने संरचनालाई जलवायु अनुकूल बनाउनुपर्ने आवश्यकता औँल्याए। भौगोलिक अवस्था र स्थानीय तापक्रमलाई समेत ध्यानमा राखेर संरचना निर्माण गर्नुपर्ने उनको भनाइ छ।
उनले पुनर्स्थापना तथा पुनर्निर्माणका लागि ‘क्लाइमेट रेजिलेन्स स्ट्रक्चर’को अवधारणाअनुसार योजना तयार पार्ने काम भइरहेको जानकारी दिए।
स्वास्थ्य सेवा पहुँचलाई समेत संरचना निर्माणको महत्वपूर्ण आधार बनाउनुपर्नेमा जोड दिँदै देवकोटाले आवास तथा अन्य संरचना निर्माण गर्दा नजिक उपलब्ध स्वास्थ्य संस्थाको अवस्था र सेवा सुविधालाई ध्यान दिनुपर्ने बताए।
मन्त्रालयले यससम्बन्धी दीर्घकालीन मास्टरप्लान तयार गरिरहेको र योजना पूरा भएपछि संसदीय समितिमा प्रस्तुत गरिने उनको भनाइ थियो।






