काठमाडौँ । विपद्को संवेदनशील समयमा खोज, उद्धार तथा व्यवस्थापनमा खटिएका सुरक्षा निकाय र राष्ट्रसेवकहरूबारे सामाजिक सञ्जालमा घृणा तथा द्वेष फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भई हाल काठमाडौँको टोखा नगरपालिका–८ बानियाँ टार बस्ने २७ वर्षीय जनक परियार रहेका छन्। उनलाई काठमाडौँको अनामनगर क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार परियारले सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामग्री विद्युतीय स्वरूपमा प्रकाशन तथा प्रसारण गरी नागरिक र सुरक्षा निकायबिचको सुमधुर सम्बन्धमा खलल पुर्याउने कार्य गरेका थिए।
निजमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा थप अनुसन्धान भइरहेको छ।
यसअघि पनि परियार सामाजिक सञ्जालमा गलत सूचना, अफवाह तथा धार्मिक घृणा र द्वेषपूर्ण अभिव्यक्ति दिएको आरोपमा पक्राउ परी छुटेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। सो पृष्ठभूमिबारे पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






