काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खोल्ने निर्णय गरेको छ।
यही भदौ २९ गते सोमबार परेको हरितालिका तीजमा पशुपतिनाथ मन्दिर आउने व्रतालु महिला, दर्शनार्थी तथा भक्तजनलाई व्यवस्थित, सहज र सुरक्षित रूपमा दर्शन गराउन विशेष व्यवस्था मिलाइएको कोषले जनाएको छ।
कोषका अनुसार तीजका दिन मन्दिर खुल्नुअघि नै उत्तर, पूर्व र दक्षिणतर्फका तीन स्थानमा पारदर्शी जाली राखेर दर्शन गर्ने व्यवस्था मिलाइनेछ।दर्शनार्थीको चाप व्यवस्थापन तथा मन्दिर परिसरमा भीड नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको हो।
यस वर्ष पनि विगतका वर्षहरूमा जस्तै तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा विशेष पूजा तथा विशेष दर्शनको व्यवस्था मिलाइएको कोषले जनाएको छ।
सनातन हिन्दु महिलाको प्रमुख पर्वका रूपमा रहेको हरितालिका तीजमा प्रत्येक वर्ष पशुपतिनाथ मन्दिरमा देश–विदेशबाट ठूलो संख्यामा व्रतालु तथा भक्तजन पुग्ने गरेका छन्।
पर्वलाई सुव्यवस्थित रूपमा सञ्चालन तथा सम्पन्न गर्न नेपाल सरकार मातहतका सुरक्षा निकाय र अन्य सम्बन्धित निकायसँग समन्वय गरिएको कोषले जनाएको छ।
दर्शन व्यवस्थापनसँगै सुरक्षा, स्वयंसेवा र स्वास्थ्य सेवालगायत आवश्यक सेवा अधिकतम रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको छ।






