काठमाडौँ । बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका-५ का मुटुसम्बन्धी समस्या भएका १२ वर्षीय बालकलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइएको छ।
तत्काल उपचार आवश्यक देखिएपछि स्थानीय तह, नेपाली सेना तथा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा बालकको हवाई उद्धार गरिएको हो।
उद्धारपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ। स्वास्थ्य अवस्था संवेदनशील रहेकाले आवश्यक परीक्षणसहित विशेषज्ञ उपचारको व्यवस्था मिलाइएको छ।
जोखिम मूल्यांकनपछि उद्धार
राष्ट्रिय बाल अधिकार परिषद्को रसुवामा खटिएको सहजीकरण टोलीले बाढी प्रभावित बालबालिकाको अवस्था मूल्यांकन गर्ने क्रममा ती बालकलाई तत्काल उपचार आवश्यक रहेको पहिचान गरेको थियो।
टोलीका संयोजक मनबहादुर थापाका अनुसार स्थलगत रूपमा बालबालिकाको जोखिम मूल्याङ्कन गर्दा बालकको स्वास्थ्य अवस्था संवेदनशील देखिएको थियो। त्यसपछि स्थानीय तह, नेपाली सेना र मन्त्रालयसँग समन्वय गरी उद्धारको व्यवस्था मिलाइएको उनले जानकारी दिएका छन्।
रसुवा र नुवाकोटमा दुई टोली परिचालन
बाढी प्रभावित क्षेत्रमा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको पहिचान, जोखिम मूल्यांकन र संरक्षणका लागि मन्त्रालयले सहजीकरण टोली परिचालन गरेको छ।
बालबालिकाको प्रारम्भिक जोखिम मूल्यांकन तथा विस्तृत सामाजिक लेखाजोखा गर्न रसुवा र नुवाकोटमा दुईवटा टोली खटाइएको मन्त्रालयले जनाएको छ।
बाढी प्रभावित क्षेत्रबाट काठमाडौँ ल्याइएका बालबालिकाको अवस्था अध्ययन तथा आवश्यक सहजीकरणको लागि काठमाडौँका गुम्बाहरूमा समेत अर्को टोली परिचालन गरिएको छ।
उपचारदेखि पारिवारिक पुनर्मिलनसम्म प्राथमिकता
मन्त्रालयका अनुसार प्रभावित बालबालिकाको जोखिम र आवश्यकताका आधारमा उद्धार, अस्थायी संरक्षण, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग तथा पारिवारिक पुनर्मिलनका काम प्राथमिकताका साथ अघि बढाइएको छ।
विपद्का कारण जोखिममा परेका बालबालिकाको तत्काल पहिचान गरी आवश्यकताअनुसार उद्धार, उपचार र संरक्षण सुनिश्चित गर्न सम्बन्धित निकायबीच समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।






