काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठीसम्बन्धी नयाँ विधेयक आवश्यक कानुनी प्रक्रिया पूरा गरी चाँडै संसद्मा पेश गरिने बताएकी छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले गुठीसम्बन्धी कानुन निर्माणलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिइन्।
उनले विगतमा गुठी विधेयक राष्ट्रिय सभाबाट फिर्ता भएको पृष्ठभूमिसमेत ध्यानमा राखेर नयाँ विधेयकको विषयमा विज्ञ तथा सरोकारवालासँग गहन छलफल र परामर्श भइरहेको बताइन्।
मन्त्री रावलका अनुसार गुठीको विषय जग्गाको स्वामित्वसँग मात्र सीमित छैन। धर्म, संस्कृति, परम्परा, सम्पदा संरक्षण तथा गुठीको आम्दानीबाट सञ्चालन हुने जात्रा र पर्वसँग समेत जोडिएकाले यसलाई संवेदनशील रूपमा हेरिएको उनले बताइन्।
त्यस्तै, गुठी संस्थान ऐन, २०३३ अनुसार गुठी जग्गाका मोही किसानले मोही हक प्राप्त गर्ने तथा उक्त हक खरिद–बिक्री गर्न र धितो–बन्धक राख्न सक्ने स्पष्ट कानुनी व्यवस्था रहेको उनले उल्लेख गरिन्।
गुठी अधीनस्थ जग्गामा मोहीले गुठी संस्थानको स्वीकृति लिएर तोकिएको दस्तुर बुझाई घर वा टहरा निर्माण गर्न सक्ने व्यवस्था रहेको भन्दै मन्त्री रावलले यस विषयमा मोही किसान त्रसित वा नकारात्मक हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारिन्।






