काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा बाढीपछि अवरुद्ध सडकलाई वैकल्पिक मार्ग निर्माण गरेर छोटो समयमै सञ्चालनमा ल्याइएको घटनाले पूर्वाधार निर्माणमा सरकारी निकाय र निर्माण व्यवसायीबीचको समन्वय तथा काम गर्ने वातावरणको महत्व देखाएको छ।
भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीपछि कृष्णभीरमा ठूलो पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो। करिब १८ दिनपछि असोज १ गतेदेखि वैकल्पिक मार्ग निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको हो।
नागढुंगा-मुग्लिङ सडक योजना पश्चिम खण्डकी प्रमुख सजना अधिकारीका अनुसार पहिरो खसेलगत्तै वैकल्पिक मार्ग पहिचानको काम अघि बढाइएको थियो। सुरुमा चुनौतीपूर्ण देखिए पनि पहिरोको माथिल्लो भागमा तुलनात्मक रूपमा समथर भूभाग भेटिएपछि त्यहीँबाट सडक निकाल्ने योजना बनाएर काम थालिएको थियो।
जोखिमयुक्त क्षेत्रमा सडक निर्माण गर्नुपरेपछि सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिएको अधिकारीले बताइन्। एक्साभेटर सञ्चालन गर्नसमेत अपरेटरहरू सुरुमा डराएको अवस्थामा प्रत्येक मेसिनमा अपरेटरसँगै हेल्पर खटाइएको थियो भने जोखिमको निरन्तर निगरानी गरिएको थियो।
दुवैतर्फबाट मेसिन परिचालन गरी ट्र्याक खोलिएको र हाल कृष्णभीरबाट ठूला मालवाहकसहित अन्य सवारीसाधन सहज रूपमा सञ्चालन भइरहेको अधिकारीले जानकारी दिइन्। रातिको समयमा यातायात सञ्चालनलाई सहज बनाउन बत्तीको समेत व्यवस्था गरिएको छ।
तर तत्काल यातायात सञ्चालनमा आए पनि कृष्णभीरको भू-स्थायित्वबारे थप अध्ययन आवश्यक रहेको अधिकारीको भनाइ छ। सक्रिय पहिरोको ‘टो’ काटेर सडक सञ्चालनमा ल्याइएकाले माथिल्लो भागको पहिरो दीर्घकालीन रूपमा स्थिर भएको हो वा होइन भन्ने विषयमा प्राविधिक अध्ययन गर्नुपर्ने उनले बताइन्।
‘ज्यानको जोखिम मोलेर बाटो खोल्यौँ’
नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काले कृष्णभीरमा अत्यधिक जोखिमका बीच सडक निर्माण गरिएको बताए।
पुरानो सडक पहिरोले बगाइसकेको र बाँकी भूभागसमेत चिराचिरा परेको अवस्थामा काम अघि बढाइएको भन्दै उनले सडक सञ्चालन गर्नु बाध्यताजस्तै बनेको बताए। उनका अनुसार सडक विभागका अधिकारी, आयोजना प्रमुख, परामर्शदाता, जियोटेक विज्ञ, इन्जिनियर तथा निर्माण कम्पनीका प्राविधिक र मजदुर फिल्डमै बसेर काममा खटिएका थिए।
काठमाडौँमा ग्यास बुलेट, पेट्रोलियम पदार्थ तथा ठूला मालवाहक सवारीसाधनको आवागमन सहज बनाउन जोखिमका बाबजुद वैकल्पिक सडक निर्माण गरिएको खड्काले बताए। उनका अनुसार काम सुरु भएको ११ दिनमै यातायात सञ्चालनमा ल्याइएको थियो।
खड्काले कृष्णभीरको अनुभवले आवश्यक वातावरण र समन्वय उपलब्ध भए पूर्वाधार निर्माणका काम निर्धारित समयमै सम्पन्न गर्न सकिने देखाएको बताए।
निर्माण व्यवसायीलाई मात्रै दोष दिन नहुने
खड्काले नेपालमा पूर्वाधार निर्माणमा हुने ढिलाइका लागि निर्माण व्यवसायीलाई मात्र दोष दिन नहुने धारणा राखे। आयोजना सुरु हुनुअघि नै सरकारले मुआब्जा, विद्युत् पोल व्यवस्थापन, वन क्षेत्र तथा रुख कटान, नदीजन्य निर्माण सामग्री, क्रसर र अस्फाल्ट प्लान्टलगायतका पूर्वतयारीका काम सम्पन्न गर्नुपर्ने उनको भनाइ छ।
निर्माण व्यवसायीलाई आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउने, काम गर्ने वातावरण र सुरक्षाको प्रत्याभूति गर्ने तथा समयमै भुक्तानी हुने व्यवस्था भए पूर्वाधार निर्माणले गति लिने उनले बताए।
उनले पूर्वाधार विकासलाई राज्यले प्राथमिकताका साथ लिनुपर्ने र निर्माण व्यवसायीसँग समन्वय बढाउनुपर्नेमा जोड दिए।
खड्काका अनुसार निर्माण व्यवसायीले समयमै काम सम्पन्न गर्न सके त्यसको प्रत्यक्ष लाभ सरकार र नागरिक दुवैलाई पुग्छ। त्यसैले आयोजना कार्यान्वयनको प्रारम्भिक चरणदेखि नै आवश्यक पूर्वतयारी पूरा गरी निर्माण व्यवसायीलाई काम गर्ने अनुकूल वातावरण बनाउनुपर्ने उनको भनाइ छ।
कृष्णभीरमा तत्कालीन आवश्यकता पूरा गर्न वैकल्पिक सडक सञ्चालनमा आए पनि दीर्घकालीन समाधानका लागि पहिरोको भू-स्थायित्व, सडकको सुरक्षा र संरचनागत जोखिमबारे थप अध्ययन आवश्यक देखिएको छ।






