काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि नेपाल फिल्म सोसाइटी र नेपाल चलचित्र कलाकार संघ अमेरिका शाखाले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लको नेतृत्वमा रु. तीन लाख ३३ हजार ३३३ बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनालाई हस्तान्तरण गरिएको हो ।
त्यसैगरी, नेपाल चलचित्र कलाकार संघ अमेरिका शाखाका अध्यक्ष दिनेश कार्की र कलाकार मनोज आचार्यले रु. एक लाख ५० हजार सहयोग जम्मा गरिएको भौचर मन्त्री तिमिल्सिनालाई हस्तान्तरण गरे । दुवै संस्थाबाट गरी बाढी पीडितका लागि रु चार लाख ८३ हजार ३३३ सहयोग उपलब्ध भएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, निवर्तमान अध्यक्ष मोहन निरौला, पूर्वअध्यक्ष रवीन्द्र खड्का तथा कलाकार शर्मिला मल्ललगायतको सहभागिता थियो । सो अवसरमा सञ्चार मन्त्री तिमिल्सिनाले विपद्को समयमा चलचित्र क्षेत्रबाट गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै नेपाली चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकार आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।
बाढी पीडितको राहत तथा पुन:स्थापनाका कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ । चलचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न नीतिगत, कानुनी तथा आर्थिक पक्षमा सुधार गर्दै अघि बढ्ने सरकारको तयारी रहेको पनि उनले जानकारी दिए । चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीका लागि प्रभावकारी र समन्वयकारी संस्थाका रूपमा विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
सञ्चार मन्त्री तिमिल्सिनाले चालु आर्थिक वर्ष २०८-८४ को बजेटमा चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्न रु तीन करोड ५० लाख अनुदान विनियोजन गरिएको उल्लेख गर्दै उक्त बजेट कार्यान्वयनका लागि ‘सांस्कृतिक तथा राष्ट्रिय महत्त्वको क्षेत्रमा चलचित्र निर्माणको लागि प्रोत्साहन अनुदान कार्यक्रमसम्बन्धी कार्यविधि, २०८३’ निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।
बजेटको उक्त कार्यक्रममार्फत सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषय समेटिएका यथार्थपरक, मौलिक र उत्कृष्ट चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने सरकारको उद्देश्य रहेको सञ्चार मन्त्री डा. तिमिल्सिनाले बताए । उनले संसदमा विचाराधीन चलचित्र विधेयकलाई प्रभावकारी र कार्यान्वयनयोग्य बनाउने गरी काम भइरहेको जानकारी दिँदै चलचित्र क्षेत्रले लामो समयदेखि अपेक्षा गरेको नीतिगत तथा संरचनागत सुधारलाई प्राथमिकतामा राखिएको बताए ।
नेपाली कला, संस्कृति तथा राष्ट्रिय महत्त्वका विषयवस्तुलाई चलचित्रमार्फत अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने प्रयासलाई सरकारले प्रोत्साहन गर्ने उल्लेख गर्दै उनले चलचित्र क्षेत्रको विकासका लागि राज्यको सहयोगलाई नीतिगत, कानुनी तथा आर्थिक पक्षसँग जोडेर अघि बढाइने बताए ।






