काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन सामान्य लयमा फर्काउन राज्य पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन् ।
गत भदौ १० गतेको बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्री श्रेष्ठले आफन्त गुमाएका परिवारजनप्रति समवेदना प्रकट गरे । उनले विपत्तिको यस घडीमा शोकलाई शक्तिमा बदल्दै नागरिकको भविष्य सुरक्षित बनाउनु आजको मुख्य चुनौती रहेको बताए ।
उनले प्रतिकुल मौसम र भौगोलिक जटिलताका बाबजुद अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी र स्वयंसेवकहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो । साथै, बाढीपीडितलाई सहयोग गर्न स्वदेश तथा विदेशबाट प्राप्त सहयोगप्रति उहाँले आभार व्यक्त गरे ।
उनले भने, ‘आँखा रसाएका छन् तर आशा मरेको छैन । विपत्तिको यो कठिन घडीमा सरकार नागरिकको साथमा छ । हाम्रो पहिलो दायित्व खोज तथा उद्धारलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिनु, घाइतेहरूको उपचार गर्नु र क्षतिग्रस्त सडक, पुल तथा विद्युतीय संरचनाहरूको पुनर्निर्माण गर्नु हो ।’
संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच भएको संवाद र विपत्तिमा देखिएको राजनीतिक दलहरूको ऐक्यबद्धताले थप हौसला मिलेको उल्लेख गर्नुभयो । जनताको जीवनभन्दा ठूलो अरू कुनै दायित्व नहुने भन्दै उनले क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई सरकारले विशेष योजनाका साथ अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।






