काठमाडौँ । नेकपा (एमाले)ले ललितपुरमा जारी पार्टी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन ग्रहण गर्दै पार्टीको तल्लो तहसम्म सम्प्रेषण गर्ने निर्णय गरेको छ ।
बिहीबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
उनका अनुसार बैठकले अध्यक्षको प्रतिवेदनले पार्टीभित्र एकताको भाव पैदा गरेको निष्कर्ष समेत निकालेको छ ।
उपमहासचिव भट्टले बैठकमा पार्टीका विभिन्न विभागमा मनोनयन गर्ने व्यक्तिका विषयमा छलफल भएको पनि बताए ।
मनोनयनको सम्बन्धमा अन्तिम निर्णय केन्द्रीय कमिटीको बैठकबाट हुने उनको भनाइ छ ।
उनले भने, अहिले आजको सचिवालयको बैठकमा अलि बृहत् रूपमा छलफल भएको छ । मनोनयन कसलाई गर्ने, कसरी गर्ने भन्ने कुरामा छलफल भयो । यो छलफल अलि लामै गयो । केन्द्रीय कमिटीको बैठकमा गएर यो कुराहरू टुंगिछन् । अक्ष्यक्षको प्रतिवेदनले एकताको भाव पैदा गरेको छ र त्यसलाई हामीले अब कसरी तलसम्म सम्प्रेषण गर्छौँ, त्यो कुरोलाई विशेष जोड दिइयो । एकरूपतामा त्यो प्रतिवेदनलाई बुझ्ने, अध्ययन गर्ने र तल सम्प्रेषण गर्ने निर्णय गरिएको छ । अहिले एकतामा आएका तथा पार्टी प्रवेश गरेकाहरूलाई कमिटीमा मनोनयन गर्ने कुरा पनि भएको छ । केन्द्रीय कमिटीको बैठकले यो सबै ढुंगो लगाएपछि सार्वजनिक हुन्छ ।’
उनले पार्टी एकतामा आएका तथा प्रवेश गरेका नेताहरूलाई विभिन्न कमिटीमा मनोनयन गर्नेबारे समेत बैठकमा छलफल भएको बताएका छन् ।






