काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुका गरगहनासहित दुई जना नेपाली नागरिक पक्राउ परेका छन् ।
कतारको दोहाबाट कतार एयरवेजमार्फत काठमाडौँ आएका यात्रुले भन्सार छली ल्याएको सुनजस्तो देखिने पहेँलो धातुका गरगहना अवैध रूपमा लैजान तथा संकलन गर्न खोजेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार धनुषाको विदेह-३ का ३१ वर्षीय अनिल रायलाई २५ ग्राम तौलको सुनजस्तो देखिने पहेँलो धातुको सिक्रीसहित नियन्त्रणमा लिइएको हो । उनलाई असोज ७ गते साँझ ४:४५ बजे अन्य व्यक्तिको आग्रह तथा ज्यालाको प्रलोभनमा परी उक्त सिक्री भन्सार छली नेपाल ल्याएर लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सोही दिन साँझ ६:३२ बजे बारा पचरौता-१ का ३३ वर्षीय अनिस अन्सारीलाई ७९ दशमलव ५९ ग्राम सुनजस्तो देखिने पहेँलो धातुका गरगहनासहित पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार अन्सारीले बाह्य मुलुकबाट आएका यात्रुले भन्सार छली ल्याएको उक्त गरगहना अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ क्षेत्रमा रिसिभ गरी लैजान खोजेका थिए ।
दुवै जनाबाट बरामद सामग्रीसहित उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार बरामद सामग्रीको प्रकृति तथा घटनासम्बन्धी थप अनुसन्धान सम्बन्धित निकायबाट अघि बढाइनेछ।







