काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेट गरेका छन् ।
भेटमा भोटेकोशीको बाढीको वैज्ञानिक अध्ययन र क्षति मूल्यांकन, जलवायुमैत्री विद्युत् पूर्वाधार निर्माणमा सहकार्य र सहयोग गर्ने विषयमा छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।
मन्त्री श्रेष्ठले मन्त्रालयले बाढीको वैज्ञानिक आधार खोज्न विज्ञ समिति गठन गरेर अध्ययन गरिरहेको जानकारी गराए ।
यसैगरी, अबको करिडोर कस्तो हुनुपर्छ भनेर प्राविधिक रूपमा अध्ययन गर्न मन्त्रालयकै प्राविधिक टोली बनाइएको उनले जानकारी गराए । मन्त्रालयले अध्ययनपश्चात् एकीकृत अवधारणा पत्र बनाउन लागेको मन्त्री श्रेष्ठले बताए ।
एडिबीका राष्ट्रिय निर्देशक कोशवाले मन्त्रालयको विज्ञ र प्राविधिक टोलीसँग सहकार्य गर्न तयार रहेको बताए । ऊर्जा क्षेत्रको समग्र विकासका लागि एडिबीका तर्फबाट वैज्ञानिक र प्राविधिक सहयोग गर्ने इच्छा व्यक्त गर्दै राष्ट्रिय निर्देशक कोशवाले क्षति मूल्यांकन र आगामी रणनीतिमा सघन काम गर्ने प्रतिबद्धता जनाए ।
भेटमा दूधकोशी जलविद्युत् आयोजनाको शिरमा हिमतालहरू रहेको र जलवायु परिवर्तनको असर कस्तो पर्छ भनेर जोखिमको अध्ययन एडिबीले गरिरहेको जानकारी राष्ट्रिय निर्देशक कोशवाले गराएका थिए। मन्त्री श्रेष्ठले यस्ता अध्ययनहरू अन्य बेसिनहरूमा पनि गर्नुपर्नेमा जोड दिए । यसमा एडिबीको सहयोग महत्वपूर्ण हुने उनले बताए ।






