रसुवा । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता गोसाइँकुण्ड गाउँपालिकाका तीन जनप्रतिनिधिको अवस्था एक महिना बित्दा पनि खुल्न सकेको छैन। उपाध्यक्ष प्रतिमा लामा, वडा नं. २ का अध्यक्ष कामीछिरिङ तामाङ र वडा नं. ५ का अध्यक्ष दावामिङ्मार तामाङको खोजी जारी रहे पनि उनीहरूबारे जानकारी नपाइएको हो।
लामो प्रतीक्षापछि बेपत्ता जनप्रतिनिधिका परिवारले आफ्नो परम्पराअनुसार काजकिरिया सुरु गरेका छन्। काजकिरिया सुरु भएको भए पनि तीनै जनाको मृत्यु आधिकारिक रूपमा पुष्टि भएको विवरण प्राप्त छैन। स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीयवासीले उनीहरूको खोजी गर्दै आएका छन्।
गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले एकैपटक तीन जनप्रतिनिधि बेपत्ता हुँदा पालिकाको नेतृत्व र सेवा प्रवाहमा गहिरो असर परेको बताएका छन्। बेपत्ताको अवस्थाबारे जानकारी नपाउँदा परिवार र सहकर्मीहरू अनिश्चिततामा रहेको उनको भनाइ छ।
उपाध्यक्ष लामा २०७९ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएकी थिइन्। नर्सिङमा स्नातक गरेकी उनी राजनीतिमा आउनुअघि राष्ट्रिय महिला भलिबल टोलीकी खेलाडीसमेत थिइन्। वडा नं. २ का अध्यक्ष कामीछिरिङ र वडा नं. ५ का अध्यक्ष दावामिङ्मार पनि सोही निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि हुन्।
भदौ १० गतेको बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ को टिमुरे–घट्टेखोला तथा स्याफ्रुबेँसी क्षेत्रमा घर, बजार र अन्य संरचनामा ठूलो क्षति पुर्याएको थियो। जनप्रतिनिधिसँगै पालिकाका कर्मचारी, शिक्षक र बालबालिकासहित अन्य स्थानीयवासी पनि बेपत्ता भएका छन्।






