काठमाडौँ । रसुवाको भोटेकोशी-त्रिशूली करिडोरमा आएको बाढीबाट बागमती प्रदेशको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
आइतबार विश्व पर्यटन दिवस-२०२६ को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै बोर्डका सदस्य शहदेव धमलाले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार बाढीका कारण प्रदेशमा १ सय ४२ भन्दा बढी पर्यटकस्तरीय तथा साना-मझौला होटेल र ६५ भन्दा बढी रेस्टुरेण्टमा क्षति पुगेको छ । उनले बाढमिा परी पर्यटन क्षेत्रले ठूलो मानवीय क्षति समेत बेहोर्नुपरेको बताए। बाढीमा परी गाइड, पोर्टर तथा सहयोगी भूमिकामा कार्यरत १ सय ८८ जनाभन्दा बढीको मृत्यु भएको उनले जानकारी दिए।
होटेलमा कार्यरत २ सय १४ जनाको मृत्यु भएको विवरणसमेत प्राप्त भएको उनले बताए। धमलाले मानवीय क्षतिको कुनै मूल्यसँग तुलना गर्न नसकिने उल्लेख गर्दै पीडित परिवारको पुन:स्थापना र पर्यटन व्यवसायको पुनरुत्थानका लागि विशेष कार्ययोजना ल्याउन आवश्यक रहेको बताए । उनले विपद्पछिको पुन:स्थापनाका लागि स्थानीय, प्रदेश र संघीय सरकारले उपलब्ध स्रोत तथा साधनको अधिकतम उपयोग गर्दै एकीकृत रूपमा काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘नेपाल पर्यटन बोर्ड विगत केही समय यता रिभाइटेलाइजेसनको कुरादेखि त्यसको आम्दानी र खर्चको विषलाई पनि डिजिटलाइज गर्ने र ग्रामीण पर्यटनलाई प्रवर्द्धन गर्नका लागि अगाडि बढिरहेको छ । हामी अहिले विपद्को एउटा घडीमा छौँ । बागमती प्रदेशले नै यसपालीको विपद्मा झन्डै १ सय ४२ भन्दा बढी पर्यटकस्तरीय या साना मझौला होटेलहरू गुमाउन पुग्यो । झन्डै ६५ भन्दा बढी रेस्टुरेण्टहरु गुमाउन पुग्यो । त्यही क्षेत्रमा पथप्रदर्शक तथा सहयोगी भूमिकामा काम गर्नुहुने १ सय ८८ भन्दा बढी हाम्रा होनहार दाजुभाइ दिदीबहिनीहरू गुमाउन पुग्यो । होटेलमै काम गर्ने झन्डै २ सय १४ जनाको आँकडा हामीले प्राप्त गरेका छौँ । पक्कै पनि त्यो मानवीय क्षति कुनै मूल्यसँग तुलना हुँदैन । तर पनि उहाँहरूको परिवारको पुन:स्थापनाको लागि एउटा विशेष कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता छ । मलाई लाग्छ माननीय मन्त्रीज्यूले यस विषयमा एकदमै ध्यानाकर्षण गर्नुहुनेछ र नेपाल पर्यटन बोर्डले सहकार्य गर्ने क्रममा अहिले पछिल्लो क्रममा हामी यो क्विक रेस्पोन्स टिम भनेर एउटा गठन गरेर कसरी विपद् न्युनिकरण तथा प्रतिकार्य गर्न सकिन्छ भनेर काम गरिरहेको अवस्था पनि छ । मलाई के लाग्छ भने झन्डै बागमती प्रदेशले पर्यटकीय क्षेत्रमा मात्र झन्डै ५२ अर्बभन्दा बढीको हाम्रो एस्टिमेटेड अजम्सनमा नोक्सानी बेहोरेको अवस्था छ । त्यसलाई परिपूरण गर्नका लागि आगामी दिनमा बागमती प्रदेशले विशेष कार्यक्रम गर्नेछ र नेपाल पर्यटन बोर्ड अब स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले आफ्नो भएका स्रोत र सुविधाहरूलाई म्याक्सिमम प्रयोग गरेर एकीकृत ढंगबाट पुन:स्थापना र पुनरुत्थानका कामहरू गर्नुपर्छ ।’
उनले विपद् जोखिम न्युनिकरण तथा प्रतिकार्यका लागि नेपाल पर्यटन बोर्डले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेर काम अघि बढाएको पनि उनले जानकारी दिए । उनले नेपाल पर्यटन बोर्डले आफ्नो कार्यसम्पादनलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने र ग्रामीण पर्यटन प्रवर्द्धनका कार्यक्रम अघि बढाइरहेको समेत जानकारी दिए।






