काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले सरकारको पछिल्लो कार्यशैली र नीतिगत निर्णयहरूको आलोचना गरेका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा उनले यातायात क्षेत्रमा लगाइएको सिन्डिकेट र पूर्व प्रधानन्यायाधीशमाथि गरिएको सुरक्षा व्यवहारलाई लिएर सरकारले ‘बाटो बिराइरहेको’ भन्दै गम्भीर प्रश्न उठाएका हुन् । सांसद गिरीले दशैँ–तिहारको मुखमा सार्वजनिक यातायातमा हचुवाको भरमा सिन्डिकेट लागू गर्ने सरकारी निर्णयप्रति आपत्ति जनाए । उनले उचित व्यवस्थापन नगरी हतारमा निकालिएको यस सूचनाले सर्वसाधारणलाई थप सास्ती दिने भन्दै यस्तो निर्णयको आधार खोज्नुपर्ने बताए । उनले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीलाई लिएर सुरक्षा निकायको भूमिकामाथि पनि प्रश्न उठाए ।
सांसद गिरीले भने, ‘व्यक्तिलाई सुरक्षा दिनुपर्ने अवस्थामा पक्राउ गरेर लगिनु दु:खद् हो । थुनामा रहेका व्यक्तिलाई भेट्न मानव अधिकारकर्मीहरूलाई समेत रोक लगाउनु कानुन र विधिको उपहास हो ।’
हालैको अविरल वर्षा र बाढी–पहिरोका कारण भएको जनधनको क्षति न्यूनीकरणमा सरकारले देखाएको तदारुकता अपुग रहेको उनले जिकिर गरे । सरकारले सदनमा गरिएका बहस र छलफलका मर्मलाई आत्मसात् गर्न नसकेको आरोप लगाउँदै उनले सरकारले गरेका वाचाहरू अलपत्र परेको दाबी गरे ।






