काठमाडौँ । सरकारले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकाबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले विभिन्न विषयमा ६ वटा निर्णय गरेको जानकारी दिए।
सरकारका अनुसार स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको हो।
त्यस्तै, पूर्व-पश्चिम राजमार्गअन्तर्गत कमला-ढल्केश्वर-पथलैया सडक खण्ड, गर्जनखोला साना जलविद्युत् आयोजना र बलेफीखोला जलविद्युत् आयोजनाका लागि आवश्यक राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिइएको छ। सशस्त्र प्रहरी बल, नेपालका तालिम शिक्षालय गुल्म तथा सीमा सुरक्षा पोस्ट निर्माणका लागि समेत राष्ट्रिय वन क्षेत्र उपयोग गर्ने अनुमति मन्त्रिपरिषद्ले दिएको छ।
बैठकले पशु, बधशाला र मासु जाँच ऐन, २०५५ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।
त्यसैगरी, संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक र अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ संशोधन गर्न बनेको विधेयक पनि संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ। संघीय निजामती सेवा विधेयक यसअघि पनि संसद्मा छलफलको विषय रहँदै आएको थियो।
मन्त्रिपरिषद्ले नेपाल प्रशासन सेवाको समूहिकरणतर्फ राजपत्रांकित विशिष्ट श्रेणीको पदमा सहसचिव आवास श्रेष्ठ कर्णलाई बढुवा गर्ने निर्णय गरेको छ।
त्यस्तै, नेपाल इन्जिनियरिङ सेवाको समूहिकरणतर्फ राजपत्रांकित विशिष्ट श्रेणीको पदमा डा. जगदीश्वर कर्मचार्यलाई बढुवा गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए।



