काठमाडौँ । बाढी पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमका दूरसञ्चार सेवा शीघ्र पुनः सञ्चालन गर्न सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले निर्देशन दिएका छन्।
मन्त्रालयमा नेपाल टेलिकमको उच्च व्यवस्थापनसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले बाढी तथा पहिरोबाट क्षतिग्रस्त टावर तथा साइटको अवस्था, सेवा पुनः स्थापनाको प्रगति र बाँकी कामबारे जानकारी लिँदै प्रभावित क्षेत्रमा सञ्चार सेवा तत्काल सञ्चालनलाई प्राथमिकता दिन निर्देशन दिएका हुन्।
प्राकृतिक विपत्तिका बेला सञ्चार सेवा अवरुद्ध हुँदा सर्वसाधारणसँगै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, सरकारी निकाय र अन्य सरोकारवाला प्रभावित हुने भएकाले सेवा पुनः स्थापनामा तीव्रता दिन उनले आग्रह गरेका छन्।
छलफलमा प्रभावित क्षेत्रको भौगोलिक अवस्था, सडक तथा विद्युत् संरचनामा भएको क्षति र आवश्यक उपकरण तथा प्राविधिक जनशक्ति परिचालनबारे समेत जानकारी लिइएको थियो। तत्काल विद्युत् आपूर्ति पुर्याउन नसकिने स्थानमा वैकल्पिक माध्यम प्रयोग गरेर भए पनि सेवा सञ्चालनमा ल्याउन मन्त्री तिमिल्सिनाले टेलिकम व्यवस्थापनलाई निर्देशन दिएका छन्।
नेपाल टेलिकमका अनुसार असोज ८ देखि ११ गतेसम्म आएको बाढी तथा पहिरोका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा देशभरका १ हजार १३२ वटा टावर प्रभावित भएका थिए। तीमध्ये १ हजार २ वटा साइट पुनः सञ्चालनमा आइसकेका छन् भने १३० वटा साइट अझै सञ्चालनमा आउन बाँकी छन्।
टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवालले प्रभावित साइटमा विद्युत् आपूर्ति अवरुद्ध हुनुका साथै सडक तथा अन्य भौतिक संरचनामा क्षति पुगेकाले प्राविधिक टोली र उपकरण लैजान समस्या भएको जानकारी गराएका छन्।
सडक मार्गबाट पुग्न नसकिने तथा तत्काल विद्युत् आपूर्ति सम्भव नभएका स्थानमा हेलिकप्टरमार्फत जेनेरेटर, आवश्यक उपकरण र प्राविधिक जनशक्ति पुर्याएर सेवा सञ्चालन गर्नुपर्ने अवस्था रहेको टेलिकमले जनाएको छ। बाढी पहिरोका कारण यसअघि पनि नेपाल टेलिकमका साइट तथा अप्टिकल फाइबरमा क्षति पुग्दा विभिन्न क्षेत्रमा सेवा प्रभावित भएको थियो।
यी जिल्लामा अझै बाँकी छन् साइट
नेपाल टेलिकमका अनुसार हाल म्याग्दीमा २४, रोल्पामा १९, मनाङमा १५, प्युठानमा १५, बागलुङमा १३, पाल्पामा ११, गुल्मीमा नौ, अर्घाखाँचीमा सात, दाङमा छ, मुस्ताङमा चार र पर्वतमा तीन वटा टेलिफोन टावर सञ्चालनमा आउन बाँकी छन्।
त्यस्तै कपिलवस्तु, नवलपरासी, गोरखा, लमजुङ, रुपन्देही र स्याङ्जालगायत जिल्लाका केही साइटसमेत अझै सञ्चालनमा आउन सकेका छैनन्।
टेलिकमले प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरी प्राथमिकताका आधारमा सेवा पुनः स्थापनाको काम अघि बढाइरहेको जनाएको छ। विद्युत् तथा सडक संरचना तत्काल पुनः स्थापना गर्न नसकिने स्थानमा वैकल्पिक व्यवस्थाबाट सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ।



