काठमाडौँ । रौतहटको गढीमाई नगरपालिका–७ धरमपुरमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ ।
बुधबार बिहान पौने १० बजे धरमपुरबाट पौराहीतर्फ जाँदै गरेको ना ६ त ८४९२ नम्बरको ट्याक्टरले घरअगाडि बाटोमा खेलिरहेका स्थानीय छोटेलाल यादवका ६ वर्षीय छोरा रितिक यादवलाई ठक्कर दिएको हो ।
ट्याक्टरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका बालकको गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचारका क्रममा बिहान १०:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना लगत्तै ट्याक्टर छाडेर चालक फरार भएका छन् । फरार चालकको खोजी भइरहेको छ भने प्रहरीले ट्याक्टरधनी स्थानीय सञ्जीव यादवलाई नियन्त्रणमा लिएको छ ।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमाण्डमा टोली खटिएको छ । ठक्कर दिने ट्याक्टरलाई प्रहरी चौकी धरमपुरमा राखिएको छ ।



