काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिक आन्दोलन र बहसलाई अधिकारको विषयमा मात्र सीमित नराखी आर्थिक विकाससँग जोड्नुपर्ने बताएका छन्।
बुधबार काठमाडौँमा काँग्रेस नेता बद्री अर्यालद्वारा लिखित दुई पुस्तकको विमोचन कार्यक्रममा पौडेलले आर्थिक विकासलाई राजनीतिक दल र सरकारको प्राथमिकतामा राख्नुपर्ने बताए।
राजनीतिक दर्शन, सामाजिक बहस र शैक्षिक पाठ्यक्रममा आर्थिक विषयलाई पर्याप्त स्थान दिन नसक्दा आर्थिक उन्नतिबारे समाजमा आवश्यक बहस हुन नसकेको उनको भनाइ थियो। राजनीतिक दलका घोषणापत्र र बहसमा समेत उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालन प्राथमिकतामा पर्न नसकेको उनले बताए।
मुलुकमा उपलब्ध स्रोतसाधनको वैज्ञानिक परिचालनबाट मात्रै आर्थिक स्रोत जुटाएर विकासलाई गति दिन सकिने उल्लेख गर्दै पौडेलले युवालाई वैदेशिक रोजगारीमा पठाएर मात्रै मुलुकको आर्थिक विकास सम्भव नहुने बताए।
उनले कृषि र औद्योगिकीकरणलाई प्राथमिकतामा राख्दै स्पष्ट नीति र ठोस कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए।



