काठमाडौँ । नुवाकोटको बाढीमा आमाबुबा बेपत्ता भएपछि विशेष संरक्षण आवश्यक भएका बाजुराका तीन बालबालिकालाई सरकारले दीर्घकालीन स्याहार योजनामा समेटेको छ। योजनाअन्तर्गत उनीहरू १८ वर्ष नपुगेसम्म शिक्षा, पालनपोषण, संरक्षण र आवश्यक हेरचाहको जिम्मेवारी सरकारले लिनेछ।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको ‘बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहार योजना’अन्तर्गत तीनै जना बालबालिकाको स्याहारसम्बन्धी सम्झौता राष्ट्रिय बाल अधिकार परिषदमा गरिएको हो।
परिवारको गुजारा चलाउन मजदुरीका लागि नुवाकोट पुगेका उनीहरूका आमाबुबा बाढीमा बेपत्ता भएका थिए। त्यसपछि वृद्ध हजुरबुबालाई तीन नाबालक नातिनातिनीको पालनपोषण र शिक्षाको जिम्मेवारी कसरी पूरा गर्ने भन्ने चिन्ता थपिएको थियो।
नाति नातिनीलाई सरकारी स्याहार योजनामा समेटिएपछि उनले उनीहरूको शिक्षा र भविष्यप्रति भरोसा व्यक्त गरेका छन्।
“छोरा-बुहारी गुमाएँ, त्यो पीडा कहिल्यै भुल्न सक्दिनँ। तर मेरा नातिनातिनीको भविष्य सुरक्षित हुने भयो। अब उनीहरू पढ्न पाउनेछन्, राम्रोसँग हुर्किन पाउनेछन्। नेपाल सरकारलाई धेरै-धेरै धन्यवाद,” उनले भनेका छन्।
विपदबाट प्रभावित तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकालाई सुरक्षित वातावरणमा हुर्काउन मन्त्रालयले दीर्घकालीन स्याहारको व्यवस्था अघि बढाएको हो। उक्त योजनामा समेटिएसँगै यी तीन बालबालिकाको पालनपोषण, शिक्षा र संरक्षणमा सरकारी सहयोग उपलब्ध हुनेछ।



