काठमाडौँ । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै जनताका जल्दाबल्दा मुद्दाहरूमा परिणाममुखी काम गर्न चुनौती दिएका छन् ।
बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले रेमिट्यान्सले धानेको अर्थतन्त्र, युवा पलायन, बढ्दो महँगी र भ्रष्टाचार जस्ता विषयमा सरकारले बेवास्ता गरेको भन्दै आलोचना गरेका हुन्।
प्रमुख सचेतक राईले सरकारको सुशासनको प्रतिबद्धता केवल नारामा मात्र सीमित रहेको आरोप लगाए । राईले निर्वाचन क्षेत्रका विकास निर्माणका काम अलपत्र परेको र सरकारी विद्यालयको गुणस्तर खस्किएको भन्दै शिक्षा क्षेत्रको बेथितिप्रति ध्यानाकर्षण गराए ।
भ्रष्टाचारका पुराना फाइल खोल्ने सरकारको दाबीमाथि उनले प्रश्न गरे । ‘गिरिबन्धु टी-स्टेट होस् वा ह्वाइट बडी काण्ड, तपाईंहरूले ठूलो छाती भएको दाबी गर्नुहुन्थ्यो, के कुराले रोक्यो ? पपुलारिटीका लागि मात्र बोल्ने हो कि ?’ भन्दै उनले सरकारलाई दुईतिहाइको नजिक रहेको शक्ति प्रयोग गरी भ्रष्टाचारीलाई कारबाही गर्न चुनौती दिए । राईले आफ्नो पार्टी भ्रष्टाचारीलाई कारबाही गर्ने जुनसुकै प्रक्रियामा सरकारलाई सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।
उनले सरकारलाई स्मरण गराउँदै भने, ‘हामीले पटक-पटक उठाएको फ्री भिसा र फ्री टिकटको विषय होस् वा किसानका समस्या, सरकारले केवल टालटुले काम मात्र गरेको छ । आफैँले खनेको खाल्डोमा आफैँ डुब्ने काम नहोस् । आन्दोलनकारीलाई जेल हालेर परिवर्तन आउँदैन ।’
जेन जेड आन्दोलनलाई दमन गरेको भन्दै उनले सरकारको नियतमाथि प्रश्न उठाए । उनले सदन बन्द रहेको समयमा संघीयता, लोकतन्त्र र समावेशिताविरुद्ध कुनै पनि ‘कुचेष्टा’ नगर्न सरकारलाई सचेत गराउँदै राईले आफ्नो दल सतर्क रहेको उल्लेख गरे ।



