काठमाडौँ । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत उपभोक्ताले खरिद बिलको विवरण प्रविष्ट गरी उपहार कुपन प्राप्त गर्ने समय आज सकिँदै छ।
विभागका अनुसार २०८३ असोज १ देखि १५ गतेसम्म नगद भुक्तानीमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले आज (बिहीबार)सम्म खरिद बिलको विवरण प्रविष्ट गर्न सक्नेछन्।
उपभोक्ताले विभागको अनलाइन प्रणालीमा गई खरिद बिलसम्बन्धी विवरण प्रविष्ट गरेपछि उपहार कुपन प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। उक्त अवधिका लागि प्राप्त कुपन आगामी असोज १६ गते खोलिने र सोही दिन विजेता घोषणा गरिने विभागले जनाएको छ।
करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी भई पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य हुने भएकाले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन विभागले उपभोक्तालाई आग्रह गरेको छ।
विभागले व्यवसायीहरूलाई समेत वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल वा बीजक जारी गर्न पुन: स्मरण गराएको छ।
कर प्रणालीमा बिल लिने–दिने संस्कारलाई प्रोत्साहन गर्ने तथा उपभोक्तालाई खरिद बिल सुरक्षित राख्न उत्प्रेरित गर्ने उद्देश्यले विभागले पाक्षिक रूपमा करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ।




