काठमाडौँ । जनकपुरधामस्थित रामस्वरुप रामसागर (राराव) बहुमुखी क्याम्पस प्रशासनले अतिथि सत्कार र विविध शीर्षकमा लाखौँ रुपैयाँ अपचलन गरेको भन्दै विद्यार्थीले सार्वजनिक रूपमा आक्रोश पोखेका छन् ।
क्याम्पसको आर्थिक पारदर्शिता कायम गर्न र शंकास्पद भुक्तानीको विवरण सार्वजनिक गर्न माग गर्दै विद्यार्थीले चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन् । शुक्रवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्ववियुका पूर्वसभापति मनिष यादवले आर्थिक वर्ष २०८२–०८३ को लेखा परीक्षण प्रतिवेदनमाथि गम्भीर प्रश्न उठाएका छन् । उनले कर कट्टी विवरणअनुसार निर्मला श्रेष्ठलाई ४० लाख ८५ हजार ६६५ रुपैयाँ र शारदादेवी लामिछानेलाई ८ हजार ६ सय रुपैयाँ भुक्तानी गरिएको उल्लेख गर्दै, उक्त रकम कुन प्रयोजनका लागि खर्चिएको हो भन्नेबारे प्रशासनसँग ठोस जवाफ माग गरेका छन् ।
त्यस्तै, विद्यार्थी रञ्जित मण्डलले क्याम्पस प्रशासन, कर्मचारी र ठेकेदारहरूको मिलेमतोमा कमिसनको खेल चलिरहेको आरोप लगाएका छन् । उनले क्याम्पसको कोषबाट कस्मेटिक पसलमा भुक्तानी गरिएको फेला पारेको दाबी गर्दै शैक्षिक संस्थामा कस्मेटिक सामग्रीको के काम भन्दै प्रश्न उठाएका छन् ।
विद्यार्थीले केवल आर्थिक पारदर्शिता मात्र नभई क्याम्पसमा स्मार्ट कक्षाकोठा र पुस्तकालयको निर्माण हुनुपर्ने तथा नियमित पठनपाठन सुचारु हुनुपर्ने माग राखेका छन् । आफ्ना मागहरू तत्काल सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने उनीहरूको चेतावनी छ । यस विषयमा क्याम्पस प्रशासनको औपचारिक प्रतिक्रिया भने आउन बाँकी छ ।



