काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
सार्वजनिक विवरणअनुसार उनी र परिवारका सदस्यका नाममा मुगुका विभिन्न स्थानमा करिब ९३ रोपनी जग्गा छ भने १० तोला सुन र १० तोला चाँदी रहेको उल्लेख छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा सार्वजनिक गरिएको सम्पत्ति विवरणमा शाहीले सुनचाँदीको स्रोत पैतृक सम्पत्ति, शिक्षकको तलब, खुद्रा व्यवसायबाट भएको आम्दानी र पारिश्रमिकलाई उल्लेख गरेका छन्।
अधिकांश जग्गा परिवारका सदस्यका नाममा
सम्पत्ति विवरणअनुसार शाही र उनका परिवारका सदस्यका नाममा मुगुका विभिन्न स्थानमा गरी करिब ९३ रोपनी जग्गा छ। अधिकांश जग्गा श्रीमती, छोरी र आमाहरूका नाममा रहेको उल्लेख छ।
ती जग्गा साबिक जिमा र श्रीनगर गाविसका विभिन्न वडामा रहेका छन्।
मुख्यमन्त्री शाही स्वयंको नाममा भने साबिक जिमा गाविस-९ मा कित्ता नम्बर ५१ को ४०२ वर्गमिटर जग्गा रहेको विवरणमा उल्लेख छ।
बैंकमा एक लाख ५५ हजार
शाहीले बैंक खातामा एक लाख ५५ हजार रुपैयाँ नगद मौज्दात रहेको विवरण बुझाएका छन्। त्यसमध्ये राष्ट्रिय वाणिज्य बैंक काठमाडौँमा एक लाख ५० हजार र एनएमबी बैंक सुर्खेतमा पाँच हजार रुपैयाँ रहेको उल्लेख छ।
उनले आफ्नो सम्पत्ति विवरणमा १८ लाख रुपैयाँ ऋणसमेत देखाएका छन्। उक्त ऋणमध्ये विभिन्न मितिमा पाँच लाख ५० हजार रुपैयाँ भुक्तानी गरिसकेको विवरणमा उल्लेख छ।
स्कुटरदेखि सातवटा गोरुसम्म
मुख्यमन्त्री शाहीले आफ्नो सम्पत्ति विवरणमा एउटा सुजुकी स्कुटर र सातवटा गोरुसमेत उल्लेख गरेका छन्।
त्यस्तै, उनीसँग एक लाख १० हजार रुपैयाँ मूल्यको एउटा क्यामरा, ९० हजार र ६० हजार रुपैयाँ मूल्य उल्लेख गरिएका दुई थान मोबाइल तथा ९० हजार रुपैयाँ मूल्यको एउटा ल्यापटप रहेको विवरणमा उल्लेख छ।
सार्वजनिक विवरणअनुसार शाहीले चल-अचल सम्पत्तिसँगै बैंक मौज्दात, ऋण, विद्युतीय उपकरण र पशुधनसमेत आफ्नो सम्पत्ति विवरणमा समेटेका छन्।



