काठमाडौँ । नेपालका लागि भारतका प्रस्तावित राजदुत डा. निश्चलनाथ पाण्डेले पेस गरेको कार्य योजनामाथि छलफल गर्दै सांसद वर्षमान पुनले नेपाल–भारत सम्बन्धका जटिलता चिर्दै आर्थिक लाभ लिने क्षेत्रहरूमा प्राथमिकताका साथ काम गर्न सुझाव दिएका छन् ।
सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा पुनले जलविद्युत व्यापार, थप हवाई प्रवेश विन्दु र प्रविधि हस्तान्तरणका विषयलाई कूटनीतिक एजेण्डाको केन्द्रमा राख्न जोड दिएका हुन् । सांसद पुनले प्रस्तावित राजदुत पाण्डे कूटनीतिक क्षेत्रका अनुभवी र दक्षिण एसियाली मामिलाका जानकार भएको भन्दै उनको कार्य योजनाले नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्षलाई समेटेको बताए । उनले द्विपक्षीय व्यापार घाटा न्यूनीकरण गर्न जलविद्युत निर्यातलाई दीर्घकालीन रणनीतिको रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक अतिरिक्त हवाई प्रवेश बिन्दु पाउन नसक्नु नेपालको प्रमुख चुनौती रहेको उनले औंल्याए । पुनका अनुसार लो–अल्टिच्युड फ्लाइट रुटमार्फत भए पनि सहज प्रवेश बिन्दु प्राप्त गर्नसके भारतीय पर्यटकको आगमन हालको तुलनामा दोब्बर हुनसक्छ । पुनले हालको व्यापार घाटा कम गर्ने मुख्य आधार जलविद्युत र पर्यटन नै भएको उल्लेख गरे ।
उनले भने, ‘१० हजार मेगावाट विद्युत विक्रीको सहमति कार्यान्वयन गर्न र बर्खामा खेर जाने बिजुलीको अल्पकालीन व्यवस्थापनमा पनि राजदूतको भूमिका सक्रिय हुनुपर्छ ।’
पुनले पछिल्लो समय भारतबाट नेपालमा भित्रिने लगानीमा आएको कमीप्रति चिन्ता व्यक्त गर्दै लगानी प्रवर्द्धनमा नयाँ कूटनीतिक पहलको आवश्यकता औंल्याए । उनले भारतको आईटी क्षेत्रको प्रगतिको लाभ लिन विगतमा भएका समझदारीहरूअनुसार उच्चस्तरीय प्राविधिक तालिम र संस्थागत सहकार्यलाई कार्यान्वयनमा लैजान पनि राजदूतको ध्यानाकर्षण गराए ।



