काठमाडौँ । इजरायलका लागि प्रस्तावित नेपाली राजदुत सुरेशकुमार कर्णले आफ्नो कार्यकालमा कृषि क्षेत्रको आधुनिकीकरण, साइबर सुरक्षा र वैदेशिक लगानी भित्र्याउने विषयलाई मुख्य प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका छन् ।
मंगलवार संसदीय सुनुवाइ विशेष समितिको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै उनले नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई आर्थिक र प्राविधिक सहयोगमा केन्द्रित गर्ने बताएका हुन्।
प्रस्तावित राजदुत कर्णले इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्ने बताए। श्रमिकहरूको सुरक्षाका लागि ‘ड्यासबाट कनेक्ट’ नामक प्राविधिक संयन्त्र निर्माण गर्ने उनको योजना छ । यो प्रणालीमार्फत इजरायलमा रहेका नेपाली श्रमिकहरूको समस्या पहिचान, कन्सुलर सेवाको ट्रयाकिङ र रियल–टाइम सूचना प्रवाह गर्ने लक्ष्य राखिएको छ । यसको सर्भर नेपालमै राखेर सुरक्षा मापदण्ड सुनिश्चित गरिने उनले स्पष्ट पारे। लगानीका विषयमा बोल्दै कर्णले आफ्नो अनुभव आईटी र बैंकिङ क्षेत्रमा रहेको बताउँदै नेपालमा वैदेशिक लगानी भित्र्याउन आफू प्रतिवद्ध रहेको बताए।
उनले भने, ‘इजरायल सरकारको सहयोगमा कृषि प्रविधिको विकास र विस्तार मेरो प्राथमिक कार्यसूचीमा छ । यसका लागि सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गरी ठोस योजना अघि बढाउनेछु ।’
उनले कोमो ल्याब प्राइभेट लिमिटेडसँगको आफ्नो संलग्नता विशुद्ध निजी क्षेत्रको पहल भएको स्पष्ट पार्दै स्वार्थको द्वन्द्व नहोस् भनी आफूले त्यसबाट राजीनामा दिइसकेको जानकारी दिए। उनले नेपाल र इजरायलबीचको पर्यटन प्रवर्द्धनका लागि सन् २०२७ मा ‘ट्रेक फर रिकभरी’ अभियान सञ्चालन गर्ने र दुई देशबीचको एयर कनेक्टिभिटीका समस्या समाधान गर्न हवाई सेवा सम्झौता कार्यान्वयनमा जोड दिने बताए ।



