बनेपा, (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३, भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु भएको छ भने उनका बुबा र आमा घाइते भएका छन्।
आज बिहान करिब ५:३० बजे काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको एचआर ३८ एएल १६३४ नम्बरको ग्यास बुलेटले सोही दिशातर्फ गइरहेको बा.प्र.०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ निवासी २९ वर्षीय चन्द्र बुढाथोकी, उनकी २७ वर्षीया श्रीमती रेणुका राई र ९ वर्षीय छोरा जुवास बुढाथोकी घाइते भएका थिए।
घाइते तीनै जनालाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएकोमा बालक जुवासलाई बिहान करिब ६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। उनका बुबा र आमाको उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र ग्यास बुलेटका चालक भारत निवासी करिब ३७ वर्षीय शिवजी रामलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




