काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दसैँ बिदाको अधिकांश समय गृहजिल्ला चितवनका नागरिकका समस्या र गुनासा सुन्न बिताएकी छन् ।
उनले माडी र भरतपुरका विभिन्न बस्तीमा पुगेर किसान, स्थानीयवासी तथा मतदातासँग प्रत्यक्ष संवाद गरेकी हुन् । माडीमा धान काटिरहेका किसानलाई खेतमै भेटेर मन्त्री गौतमले कृषि उत्पादन, मल–बिउको उपलब्धता, बजार मूल्य तथा किसानका समस्याबारे जानकारी लिइन् । उनले हुलाकी सडक र स्थानीय पूर्वाधार निर्माणका विषयमा समेत चासो व्यक्त गरीन् ।
भरतपुरका नदी तटीय क्षेत्रको निरीक्षण गर्दै गौतमले नारायणी नदीको कटान, अधुरा तटबन्ध र बस्ती सुरक्षासम्बन्धी स्थानीयका गुनासो सुनीन् । भरतपुर महानगरपालिकाका वडा नम्बर ३, १६, १७, २६, २७ र २८ का बासिन्दासँग छलफल गर्दै उनले बाँकी तटबन्ध निर्माण सम्पन्न गराउन पहल गर्ने प्रतिबद्धता जनाइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति इन्जिनियर मिनीमाधव खनालका अनुसार मन्त्री गौतमले नागरिकलाई समस्या सुनाउन काठमाडौँ धाउनुपर्ने अवस्थाको सट्टा गाउँमै पुगेर भेटघाट गरेकी हुन । चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित गौतमले दसैँका अवसरमा स्थानीयसँग शुभकामना आदानप्रदान गर्नुका साथै विकास निर्माण र सार्वजनिक सरोकारका विषयमा छलफल गरीन् ।
उनले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई समेत आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग भेट गराइन् ।




