अर्घाखाँची । सवारी साधनको राजस्व बुझाउन र ब्लुबुक नवीकरण गर्न बुटवल जानुपर्ने अर्घाखाँचीवासीको बाध्यता अन्त्य भएको छ । जिल्लामै पहिलो पटक सवारी दर्ता किताब (ब्लुबुक)नवीकरण सेवा सुरु भएपछि मोटरसाइकलदेखि ठूला सवारी साधनसम्मको नवीकरण अब अर्घाखाँचीबाटै गर्न सकिने भएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीमा आयोजित कार्यक्रममा सेवाको शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले नवीकरण गरिएका सवारी दर्ता किताब सेवाग्राहीलाई हस्तान्तरण गरेका थिए ।
लामो समयदेखि जिल्लावासीले अपेक्षा गर्दै आएको सेवा प्रदेश सरकारले जिल्लामै उपलब्ध गराउन सफल मुख्यमन्त्री आचार्यले बताए । जिल्लाबाटै सेवा सञ्चालन हुनु अर्घाखाँचीवासीका लागि खुसी र गौरवको विषय भएको उनको भनाइ थियो ।‘आज अर्घाखाँची जिल्ला र यहाँ बसोबास गर्ने नागरिकहरुकोलागि खुसी र गौरवको क्षण हो’उनले भने,‘ यातायात क्षेत्रको सेवा थपिएको छ । यसलाई विस्तार गर्दै लैजाने प्रदेश सरकारको योजना छ ।’
सेवा सुरु भएसँगै सवारी साधनको नवीकरण र राजस्व बुझाउन बुटवल पुग्नुपर्ने बाध्यता हटेको भन्दै मुख्यमन्त्री आचार्यले यातायात क्षेत्रका अन्य सेवा पनि क्रमशः जिल्लामै विस्तार गर्ने योजना रहेको बताए। आवश्यक प्रक्रिया पूरा गरेर सवारी साधनको जाँचपाससम्बन्धी सेवा पनि अर्घाखाँचीबाटै उपलब्ध गराउने तयारी भइरहेको उनले जानकारी दिए ।
मुख्यमन्त्री आचार्यले सेवा प्रवाहलाई प्रभावकारी, व्यवस्थित र गुनासोरहित बनाउन कर्मचारी तथा सम्बन्धित व्यवसायीलाई निर्देशनसमेत दिए। घरेलु तथा साना उद्योग कार्यालयको जिम्मेवारी थपिएको उल्लेख गर्दै उनले सेवाग्राहीले कुनै पनि प्रकारको सास्ती र असुविधा भोग्न नपर्ने गरी काम गर्न आग्रह गरे ।
यातायात क्षेत्रको सेवा प्रवाहमा सेवाग्राहीबाट विभिन्न गुनासा आउने गरेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले त्यस्ता गुनासा नआउने गरी जिम्मेवारीपूर्वक सेवा दिनुपर्ने बताए । व्यवसायी तथा कर्मचारीले उच्च मनोबलका साथ नागरिकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो ।
जिल्लामै सवारी दर्ता किताब नवीकरण सेवा सुरु भएपछि सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै सामान्य कामका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । प्रदेश सरकारले आगामी दिनमा यातायात क्षेत्रका थप सेवा जिल्लास्तरबाटै उपलब्ध गराउने तयारी गरेको जनाएको छ ।




