बनेपा (काभ्रे) । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ खहरे खोलामा ग्राबेलसहितको लेदोमाटो बग्दा दुई घर र एउटा गोठमा क्षति पुगेको छ ।
आज बिहान लेदोमाटो बगेर स्थानीय शेरबहादुर तामाङको ढुङ्गा-माटोले बनेको जस्ताको छानो भएको एकतले घर पुरिएको हो । घरको जस्ता मात्र देखिने गरी लेदो माटोले पुरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए।
सोही स्थानमा रहेका शेरबहादुरकै नजिकको अर्को तीनतले घर र स्थानीय हर्कबहादुर तामाङको तीनतले घरसमेत लेदोसहितको पानी पसेको छ । हर्कबहादुरको घरनजिक रहेको जस्तापाता र काठले बनेको गोठ पूर्ण रूपमा क्षति भएको छ ।
घटनामा मानवीय तथा चौपायाको क्षति नभएको र दुवै परिवारका आठ-आठ गरी १६ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खोपासीबाट खटिएको प्रहरी टोलीले दुवै परिवारलाई आफन्तको घरमा सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो ।




