काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित केन्द्रिय कार्यसमितिलाई अद्यावधिक गर्न पार्टी निर्वाचन आयोग पुगेको छ ।
निर्वाचन आयोगमा केन्द्रिय कार्यसमिति अद्यावधिकसम्बन्धी विवरण बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको विधान, संविधान र प्रचलित कानुनी व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न भएको र त्यसबाट निर्वाचित नयाँ कार्यसमितिलाई आयोगमा अद्यावधिक गर्न आएको बताए ।
उनले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रिय कार्यसमितिमा परिवर्तन भएपछि निर्वाचन आयोगमा विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरे । सोही व्यवस्था अनुसार गगन थापाको सभापतित्वमा निर्वाचित कार्यसमितिको विवरण बुझाइएको उनको भनाइ छ ।
महामन्त्री पौडेलले काँग्रेसको १५ औँ महाधिवेशन विधिवत् रूपमा सम्पन्न भएको दाबी गर्दै महाधिवेशनमा व्यापक सहभागिता र उत्साह देखिएको बताए ।
आठ महिनाको अवधिमा दुईवटा महाधिवेशन सम्पन्न गरेको उल्लेख गर्दै उनले विशेष महाधिवेशनपछि नियमित महाधिवेशन गरिएको र सबैलाई प्रतिस्पर्धामा सहभागी हुने वातावरण निर्माण गरिएको बताए।




