काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी फूलको प्रवर्द्धन र नर्सरी व्यवसायको विकासमा सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।
नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो २०८३’ को उद्घाटन गर्दै मन्त्री चौधरीले स्वदेशी फूल तथा बिरुवाको उत्पादन, प्रवर्द्धन र नर्सरी व्यवसायको विकासका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएकी हुन् ।
उनले स्वदेशी फूलको उत्पादन र उपभोग बढाउनुपर्नेमा जोड दिइन् । तिहार नेपाली समाजको उज्यालो, रङ र फूलसँग जोडिएको सांस्कृतिक पर्व भएकाले यस अवसरमा स्वदेशी फूल तथा बिरुवाको प्रदर्शनी आयोजना हुनु सान्दर्भिक रहेको उनको भनाई छ ।
स्थानीय उत्पादनलाई उपभोक्तासम्म पुर्याउने र नेपाली फूलको बजार विस्तार गर्ने माध्यमका रूपमा एक्स्पोले भूमिका खेल्ने उनले बताइन् । मन्त्री चौधरीले नर्सरी व्यवसायलाई व्यापारमा मात्र सीमित नराखी उत्पादन वृद्धि, वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनको असर न्युनिकरणसँग जोड्नुपर्ने बताइन् । यस क्षेत्रले युवा तथा महिलाका लागि रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सक्ने उनले उल्लेख गरिन्। नर्सरी व्यवसायीले भोग्दै आएको जग्गा अभावको समस्या समाधानका लागि सरकारले भूमि बैंकको अवधारणा अघि बढाउन लागेको उनले जानकारी पनि दिइन् । उनले रैथाने फूल तथा नेपालमै उत्पादित वस्तुको उत्पादन र बजारीकरणमा प्राथमिकता दिन व्यवसायीलाई आग्रह गरिन् ।
उनले भनिन्, ‘नर्सरी व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि आवश्यक पर्ने नीतिगत एवम् प्राविधिक सहयोग र सहकार्य गर्न मन्त्रालय सधैँ तत्पर रहेको विश्वास दिलाउन चाहन्छु । संघले राखेका हक हित, नीतिगत सहजीकरण, प्राविधिक सहयोगका सवालमा मन्त्रालय सधैँ सकारात्मक छ । यस क्षेत्रमा महिला सहभागिता बढिरहेको छ । रैथाने र नेपालमा उत्पादित वस्तुहरूलाई अहिले नेपाल सरकारले एकदम धेरै जोड दिइराखेको छ, त्यसमा जोड दिन पनि म अनुरोध गर्न चाहन्छु । व्यवसायीहरूले जग्गामा एकदम समस्या भएको पनि जानकारी गराउनुभयो । अब हामीले यसपटक कानूनमार्फत विशेष गरेर भूमि बैंकको अवधारणा हामी ल्याउँदै छौँ । छिटोभन्दा छिटो यसको समाधान हुनेछ । यहाँहरूले जुन तिहार यो चौथो तिहार फ्लोरा एक्स्पो २०८० को विशेष गरेर एकदमै भव्य रूपमा आयोजना गर्नुभएको छ, यस्तो खालको एक्स्पोहरू देशैभरि गर्न जरुरी छ ।’
मन्त्रालयले वन तथा भू-संरक्षण विभाग, बागवानी केन्द्र, बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र र राष्ट्रिय प्लान्ट क्वारेन्टाइन तथा बायो-सेक्युरिटी केन्द्रमार्फत नर्सरी क्षेत्रको व्यवस्थापन, गुणस्तर नियमन, प्राविधिक सहयोग र तालिमका कार्यक्रम सञ्चालन गरिरहेको उनले बताइन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमलगायतका माध्यमबाट गुणस्तरीय नर्सरी स्थापना, अनुदान तथा फलफूलका बिरुवा वितरणका कार्यक्रमसमेत सञ्चालन भइरहेको उनको भनाइ छ । मन्त्री चौधरीले नर्सरी व्यवसायी संघले उठाएका नीतिगत सहजीकरण, व्यावसायिक हकहित र प्राविधिक सहयोगसम्बन्धी विषयमा मन्त्रालय सकारात्मक रहेको उल्लेख गरिन् ।
नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष राम्जीप्रसाद तिमिल्सिनाले सरकारको स्वामित्वमा रहेका खाली जग्गाहरू नर्सरी व्यवसायीको लागी उपलब्ध गराउन माग गरे । लामो समय सरकारी स्वामित्वमा खाली भएका जग्गाहरूलाई उत्पादनमा लगाउनुपर्ने उनको भनाई छ । उनले शहरी क्षेत्रमा खाली रहेका जग्गाहरू नर्सरी बजार स्थापना गर्ने वातावरण मिलाउन पनि सरकारको ध्यानाकर्षण गराए । साथै सातै प्रदेशमा प्रदेशस्तरीय मेला प्रदर्शनी तथा तालिम सञ्चालन गर्ने गरि नीति बनाउन उनले सरकारसँग आग्रह गरे । तिहारमा धेरै फूल आयात हुने हुनाले सयपत्री फूलमा आत्मनिर्भर बन्नलाई आयातलाई पुरै रोक्न पनि उनले सुझाव दिए। देशैभरि खाली रहेका जग्गाहरूमा भौगोलिक अवस्था हेरेर फूल फूल, जडीबुटी तथा व्यावसायिक खेती गर्नुपर्नेमा उनले जोड दिए । उत्पादनमा आत्मनिर्भर भएर निर्यात बढाउन सकेमा मात्रै देश समृद्ध हुने उनको भनाई छ ।
उनले भने, ‘सरकारको स्वामित्वमा रहेका खाली जग्गाहरू व्यवसायीले भाडामा प्रयोग गर्ने गरी उपलब्धताका लागि हामीले सरकारबाट अपेक्षा गरेका छौँ । सरकारी स्वामित्वमा रहेका खाली जग्गाहरूलाई उत्पादनमा लगाएर निर्यात बढाउन आवश्यक छ । त्यसैगरी अहिले शहरी क्षेत्रमा खाली रहेका जग्गाहरूमा नर्सरी बजार स्थापना गर्ने वातावरणको सरकारले मिलाउनुपर्छ । सातै प्रदेशमा प्रदेशस्तरीय मेला प्रदर्शनी लगायत प्रदेशलाई समेटिने खालका तालिम लगायत अन्य कार्यक्रम सञ्चालन गर्न सरकारलाई ध्यानाकर्षण गराएका छौँ । तिहारमा धेरै फूल आयात हुने हुनाले सयपत्री फूलमा आत्मनिर्भर बन्नलाई यसको आयातलाई पुरै रोक्नुपर्छ । देशैभरि खाली रहेका जग्गाहरूमा भौगोलिक अवस्था हेरेर फूल हुन सक्छ, फलफूल हुन सक्छ, जडीबुटी हुन सक्छ, के हुन्छ व्यावसायिक खेती गराउने, नर्सरीवालाले बिरुवा तयार गर्ने, व्यावसायिक खेती गराउने, त्यो व्यवसायीले उत्पादन गरेको बजार सुनिश्चितता गर्नेमा सरकारले ध्यान दिन आवश्यक छ । जडीबुटी तथा उत्पादन प्रशोधन केन्द्र एउटा छ, त्यसैगरी जडीबुटी संंघहरू तीनटा छ । अहिले नेपालमा ती संघहरूले किन्ने वातावरण बनाइदिए जडीबुटीको पनि व्यापक ठुलो खेती गर्ने सम्भावना छ, यसको लागी सरकारले वातावरण निर्माण गर्नुपर्छ ।’
‘तिहारको उत्सव, स्वदेशी फूलको महोत्सव’ नारा मंगलवारदेखि सुरु भएको मेला कात्तिक २१ गतेसम्म चल्नेछ । मेलाले स्वदेशी उत्पादनको बजार विस्तार र हरित अर्थतन्त्रको विकासमा योगदान पुर्याउने संघकी उपाध्यक्ष तथा मेला संयोजक लक्ष्मी महर्जनले विश्वास व्यक्त गरिन्। पाँच दिन सञ्चालन हुने एक्स्पोमा पुष्प, फलफूल, कृषि, वन तथा जडीबुटी नर्सरीका उत्पादन समेटिएका छन् । मेलामा व्यावसायिक, सरकारी, संघका आधिकारिक तथा प्रतिस्पर्धात्मक गरी कुल ७३ वटा स्टल रहने संयोजक महर्जनले जानकारी दिइन् । उनका अनुसार एक्स्पोमा ३५ हजार अवलोकनकर्ता सहभागी हुने र एक करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।
उनले भनिन्, ‘मेलामा ६३ वटा व्यवसायी स्टल लगायत वनस्पति विभाग, पुष्प विकास केन्द्र, संघको अफिसियल ६ वटा स्टल तथा प्रतिस्पर्धाको ४ वटा स्टल समेत जम्मा ७३ वटा स्टल रहनेछ । यस मेलामा ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै १ करोडभन्दा बढी आर्थिक कारोबार हुने अपेक्षा गरेका छौँ ।’
संयोजक महर्जनले आर्थिक मन्दीका कारण सुस्ताएको हरित अर्थतन्त्रमा संलग्न उद्यमी तथा व्यवसायीलाई प्रोत्साहित गर्नुका साथै नर्सरी क्षेत्रमा लगानी, रोजगारी सिर्जना र नयाँ उद्यमशीलताको सम्भावना उजागर गर्नु एक्स्पोको उद्देश्य रहेको बताइन् । एक्स्पोमा स्वदेशी फूल तथा बिरुवाको प्रदर्शनी र बिक्रीसँगै नर्सरी व्यवसायसम्बन्धी जानकारी तथा व्यावसायिक उत्पादनको प्रवर्द्धन गरिने आयोजकले जनाएको छ ।




