काठमाडौ। नेपालका ७५३ वटै स्थानीय तहमा रहेका सीप, रोजगार तथा उद्यमशीलता केन्द्रहरूको सुदृढीकरण र मर्यादित रोजगारी प्रवर्द्धनका लागि सरकार तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बीच सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र आईएलओका नेपाल निर्देशक नुमान ओज्कानबीच मंगलबार भएको भेटवार्तामा स्थानीय तहमा सञ्चालित सीप तथा रोजगारसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो।
भेटमा मर्यादित रोजगारी प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारमा सहकार्य विस्तार गर्ने विषयलाई प्राथमिकता दिइएको थियो।
त्यसैगरी, नेपालमा सञ्चालन भइरहेका श्रम तथा रोजगारसम्बन्धी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।
संघीय संरचनाअन्तर्गत स्थानीय तहमा रहेका सीप, रोजगार तथा उद्यमशीलता केन्द्रहरूको सुदृढीकरणलाई छलफलको प्रमुख विषय बनाइएको थियो।
यसअघि पनि सरकारले स्थानीय तहका रोजगार, सीप तथा उद्यमशीलता केन्द्रहरू परिचालन गरी आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने नीति अघि सारेको थियो। मन्त्री यादवले संसद्मा सबै ७५३ स्थानीय तहका केन्द्रलाई सक्रिय बनाइएको जानकारी गराएका थिए।
आईएलओले समेत नेपालका सार्वजनिक रोजगार सेवा प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, संस्थागत क्षमता विकास तथा तथ्याङ्क प्रणाली सुधार आवश्यक रहेको औँल्याउँदै आएको छ।




