काठमाडौँ । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक (एडीबी)बाट ऋण तथा अनुदान सहायता स्वीकार गर्नेदेखि दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका ६ वटा निर्णय सार्वजनिक गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न मन्त्रालयसँग सम्बन्धित ६ वटा निर्णय भएको जानकारी दिएका हुन्।
बैठकले सडक सुधारका लागि एडीबीबाट प्राप्त हुने २८ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र दुई करोड अमेरिकी डलर बराबरको अनुदान गरी कुल ३० करोड ५० लाख अमेरिकी डलर बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद शेयर लगानी गर्न सहमति प्रदान गर्ने निर्णय भएको छ।
कृषि क्षेत्रतर्फ नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने र मल नियन्त्रण आदेश, २०८३ स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
बैठकले मोही लागेको जग्गाको बाँडफाँटसम्बन्धी समयसीमा पनि थप गरेको छ। जग्गावाला र मोहीले जग्गा बाँडफाँटका लागि निवेदन दिनुपर्ने अवधि २०८५ कात्तिकसम्म र बाँडफाँटसम्बन्धी कारबाही टुंगो लगाउनुपर्ने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति दिइएको छ।
यसैगरी, टर्कीको आन्ताल्यामा २०८३ कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको छ।
मन्त्रिपरिषद्ले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको छ।




