काठमाडौँ । राष्ट्रिय किताबखाना (निजामती) विभागले कर्मचारी सूचना प्रणालीअन्तर्गत सञ्चालित ई-सिटरोल र ई-सर्भिस प्रणाली आवश्यक स्तरोन्नतिपछि पुनः सञ्चालनमा ल्याएको छ।
विभागले मंगलबार जरुरी सूचना जारी गर्दै कर्मचारीको अभिलेख तथा सेवासम्बन्धी कामका लागि प्रयोग हुँदै आएका दुवै प्रणाली स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याइएको जनाएको हो।
विभागका अनुसार ई-सिटरोल प्रणाली र ई-सर्भिस प्रणाली आवश्यक प्राविधिक सुधारपछि पुनः सञ्चालनमा आएका हुन्। यससँगै विभागले सिटरोल दर्ता अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा रहेको स्मरण गराएको छ।
विभागले यसअघि असोज २६ गते प्रकाशित सूचनाअनुसार कात्तिक १ गतेदेखि सिटरोल दर्ता अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत हुने व्यवस्था गरिएको स्पष्ट पारेको छ।
कर्मचारीको सिटरोल दर्ताका लागि ई-सिटरोल प्रणाली र सेवासम्बन्धी कामका लागि ई-सर्भिस प्रणाली सञ्चालनमा रहेका छन्।
विभागले सम्बन्धित सबै निकाय तथा कर्मचारीलाई परिमार्जित प्रणाली र अनलाइन सिटरोल दर्तासम्बन्धी व्यवस्था जानकारी गराउने उद्देश्यले सार्वजनिक सूचना जारी गरेको हो।





