काठमाडौँ। सल्यानको बनगाड कुपिण्डे नगरपालिका–७ लेक सङ्ग्रहीस्थित सिम्टीगैरा सामुदायिक वनबाट प्रहरीले पाँच नाल भरुवा बन्दुक बरामद गरेको छ।
आज बिहान करिब ८:५५ बजे इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सामुदायिक वनभित्र बेवारिसे अवस्थामा रहेका भरुवा बन्दुक फेला पारेको हो।
प्रहरीका अनुसार बरामद गरिएका पाँच नाल बन्दुकमध्ये तीन नाल साबुत र दुई नाल बेसाबुत अवस्थामा रहेका छन्।
बरामद भएका भरुवा बन्दुकको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




