काठमाडौँ। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीका लागि काठमाडौँ आएका मिश्रीले परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग भेट गरेका हुन्।
भेटमा नेपाल–भारत सम्बन्धका विविध आयाम, आपसी हितका विषय तथा द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने सम्भावनाबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार दुवै पक्षले नेपाल र भारतबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै बहुआयामिक साझेदारीलाई विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरेका छन्।
विशेष गरी दुई देशबीच विद्यमान सहकार्यलाई थप गहिरो बनाउने र साझा हितका क्षेत्रमा आपसी सम्बन्धलाई अघि बढाउने विषयमा कुराकानी भएको मन्त्रालयको भनाइ छ।
प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणको तयारीका सिलसिलामा भारतीय विदेश सचिव मिश्री बुधबार बिहान दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका हुन्। उनी नेपाली समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका हुन्।




