काठमाडौँ। कैलालीमा खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेका कैलारी गाउँपालिका-४, हसुलियाका २० वर्षीय सरोज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका-५, बनुवाघाट क्षेत्रमा चौधरीलाई शंकास्पद अवस्थामा फेला पारेको थियो।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागेर जाँच गर्दा साथबाट १८ ग्राम ५७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
बरामद पदार्थको वास्तविक प्रकृति परीक्षणबाट पुष्टि हुन बाँकी छ। पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।





