काठमाडौँ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सल्यानको एक बाल संरक्षण छात्रावासको स्थलगत अनुगमन गर्दै बालबालिकाको संरक्षण र आवासीय व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिएकी छन्।
बुधबार सल्यानको शारदा नगरपालिका-५, तल्लीमाकैस्थित श्री जनकल्याण आधारभूत विद्यालयमा सञ्चालित बाल संरक्षण छात्रावासको अवलोकन गर्दै मन्त्री बादीले त्यहाँ आश्रित बालबालिकाको अवस्था तथा उपलब्ध सेवा सुविधाबारे जानकारी लिएकी हुन्।
संरक्षणविहीन तथा अतिविपन्न परिवारका बालबालिकालाई आवासीय सुविधासहित संरक्षण प्रदान गर्ने उद्देश्यले सञ्चालित छात्रावासमा उनले खानपान, आवास, शिक्षा, स्वास्थ्य तथा बालबालिकाका अन्य आधारभूत आवश्यकताको अवस्थाबारे जानकारी लिइन्।
अनुगमनका क्रममा मन्त्री बादीले बालबालिकाको संरक्षण, शिक्षामा पहुँच र समग्र विकास सुनिश्चित गर्नु राज्यको महत्त्वपूर्ण जिम्मेवारी भएको बताइन्। विशेष गरी संरक्षणको आवश्यकता रहेका बालबालिकालाई सुरक्षित वातावरणमा अध्ययन र विकास गर्ने अवसर उपलब्ध गराउनुपर्नेमा उनले जोड दिइन्।
उनले छात्रावास सञ्चालनमा देखिएका आवश्यकता तथा व्यवस्थापकीय समस्या सम्बोधन गर्न सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाइन्।
मन्त्री बादीले बालबालिकाको हितलाई प्राथमिकतामा राख्दै छात्रावासको व्यवस्थापन तथा आवश्यक सहयोगका लागि स्थानीय प्रशासन र सरोकारवाला निकायलाई समन्वयात्मक रूपमा काम गर्न निर्देशनसमेत दिइन्।
अवलोकनका क्रममा सल्यानका प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धित सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो। मन्त्री बादीले छात्रावासका आवश्यकता पहिचान गरी तिनको सम्बोधनका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएकी छन्।





