काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीबीच बिहीबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्ध, व्यापार, कनेक्टिभिटी, विकास साझेदारी र सांस्कृतिक सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको छ।
भेटका क्रममा भारतीय विदेश सचिव मिश्रीले नेपालको विकास र समृद्धिका प्रयासमा भारत सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्। द्विपक्षीय सम्बन्धलाई थप परिणाममुखी बनाउँदै पारस्परिक लाभका क्षेत्रमा सहकार्य अघि बढाउने विषयमा समेत कुराकानी भएको जनाइएको छ।
प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणको तयारी भइरहेका बेला भएको यो भेटलाई कूटनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ। भ्रमणका सम्भावित कार्यसूची, उच्चस्तरीय संवादको निरन्तरता र द्विपक्षीय सहकार्यका प्राथमिकताहरू निर्धारण गर्ने विषयमा दुवै देशका अधिकारीहरूबीच छलफल भइरहेको छ।
दुई दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौँ आएका मिश्रीले यसअघि परराष्ट्र मन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
उनले बुधबार नै परराष्ट्र सचिव अमृतबहादुर राईसँग द्विपक्षीय वार्ता गरेका थिए। उक्त वार्तामा सीमासम्बन्धी विषय, व्यापार तथा पारवहन, ऊर्जा सहकार्य, पूर्वाधार आयोजना र भारतको सहयोगमा सञ्चालित परियोजनाको प्रगतिलगायत विषयमा छलफल भएको थियो।
नेपाल र भारतबीच उच्चस्तरीय राजनीतिक भ्रमणको तयारीसँगै आर्थिक तथा विकास साझेदारीलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको छ। प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणका विषयमा दुवै पक्षबीच कूटनीतिक समन्वय जारी रहे पनि भ्रमणको औपचारिक मिति सार्वजनिक भइसकेको छैन।
भारतीय विदेश सचिव मिश्री प्रधानमन्त्रीसँगको भेटवार्तासहित नेपालको दुई दिने भ्रमण सम्पन्न गरी बिहीबार नै स्वदेश फर्किने कार्यक्रम छ।





