काठमाडौँ । सर्लाहीको भूमि प्रशासन कार्यालय मलंगवामा कार्यरत नायब सुब्बा निर्मल तिमलसिनालाई एक लाख रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको छ।
मोही कायम भएका जग्गाहरू नामसारी गराउने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले तिमलसिनालाई बुधबार (कात्तिक १८ गते) नियन्त्रणमा लिएको हो।
आयोगका अनुसार तिमलसिनाले सेवाग्राहीबाट घुसबापत एक लाख रुपैयाँ लिइसकेको अवस्थामा उक्त रकमसहित उनलाई सर्लाहीस्थित भूमि प्रशासन कार्यालयबाट नियन्त्रणमा लिइएको थियो।
घटनापछि आयोगले तिमलसिनाविरुद्ध घुस तथा भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन विशेष अदालतबाट म्याद थप गराएको छ। बिहीबार (कात्तिक १९ गते) विशेष अदालतको आदेशअनुसार अनुसन्धानका लागि म्याद थप भएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा मोही कायम भएका जग्गाको नामसारी प्रक्रियामा घुस मागिएको भन्ने सूचना तथा उजुरीका आधारमा कारबाही गरिएको उल्लेख छ।
अख्तियारले घटनासँग सम्बन्धित थप प्रमाण संकलन तथा अनुसन्धानको प्रक्रिया अघि बढाएको जनाएको छ।





