काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी र त्रिशूली क्षेत्रमा गएको विपद्पछि पुनर्निर्माणका लागि ४.७ देखि ५ अर्ब डलरसम्म आवश्यक पर्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेका छन् ।
शुक्रवार सिंहदरबारमा आयोजित संसदीय विशेष समितिको बैठकमा उनले विपद्बाट भएको भौतिक र आर्थिक क्षति नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिव १० प्रतिशत रहेको जानकारी दिँदै सो रकम व्यवस्थापनका लागि सरकारले चरणबद्ध कार्ययोजना अघि बढाएको बताउनुभएको हो । अर्थमन्त्री वाग्लेले भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढी–पहिरोले २.७ देखि २.८ अर्ब डलर बराबरको क्षति पुर्याएको उल्लेख गर्दै ‘बिल्डिङ ब्याक बेटर’ (थप समृद्ध पूर्वाधार निर्माण) को अवधारणाअनुसार पुनर्निर्माणमा ठूलो लगानी आवश्यक रहेको बताए ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भएको १८ अर्ब रुपैयाँ संकलनलाई सरकारप्रति जनताको उच्च विश्वासको कडीका रूपमा अर्थमन्त्रीले अर्थ्याए । उनले उक्त रकम जथाभावी नबाँडी कार्यविधि र आवश्यकताका आधारमा खर्च गरिने स्पष्ट पारे ।
उनले भने, ‘पाँच दिनभित्रै गरिएको र्यापिड ड्यामेज निड्स एसेसमेन्ट (आरडिएनए) र विश्व बैंकको ग्रेड मेथोडोलोजी दुवैले करिब ४.७ देखि ५ अर्ब डलरसम्मको पुनर्निर्माण आवश्यकता देखाएको छ । यो सित्तैमा आएको पैसा होइन, यसको मर्म अनुसार ६ महिनाको होराइजन राखेर अन्य विपद्का लागि समेत बचत गर्दै पूर्वाधार र कृषि क्षेत्रको राहतमा केन्द्रित गर्ने योजनामा छौँ ।’
बजेट व्यवस्थापनका सम्बन्धमा उनले चालु आर्थिक वर्षको २१ खर्ब २४ अर्बको बजेट सीमा नाघ्ने गरी पूरक बजेट ल्याउनुभन्दा मौजुदा विनियोजनबाटै बजेटको पुन:प्राथमिकीकरण गरी काम गर्ने तयारी रहेको बताए । पूर्वाधार मन्त्रालयलाई जिम्मेवारी दिने र आवश्यकता परे आगामी वर्षको बजेटमा पुनर्निर्माणलाई प्राथमिकताका साथ समावेश गरिने उनको भनाइ छ ।





