काठमाडौँ । नवलपुरको देवचुलीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक प्रहरी जवानको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत भएको दुर्घटनामा २४ वर्षीय प्रहरी जवान लोकेश भण्डारीको मृत्यु भएको हो।
नवलपुर प्रहरीका अनुसार नारायणघाटबाट कावासोतीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशामा गुडिरहेको नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भण्डारीलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको थियो। अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
डडेलधुराको खटेडा-१ घर भएका भण्डारी नेपाल प्रहरीको प्रहरी पहरा गण, सामाखुसी काठमाडौँमा दरबन्दी भई ललितपुरको भैँसेपाटीस्थित मन्त्री क्वार्टरमा कार्यरत रहेको जनाइएको छ।





