महोत्तरी । गौशाला नगरपालिकाले वडा नम्बर ५ मा नेपाल सरकारको नाममा दर्ता रहेको जग्गा खाली गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन प्रधानमन्त्रीलाई अनुरोध गरेको छ । नगर प्रमुख डा. दीपेन्द्र महतोले २७ कात्तिकमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उक्त अनुरोध गरेका हुन् ।
साबिक शिवभक्तिखोर गाविस-१ मा पर्ने कित्ता नम्बर ११५ को उक्त जग्गा पाँच बिघा तीन कट्ठा आठ धुर छ । नगरपालिकाले सो जग्गामा बाल उद्यान निर्माण र हाटबजार व्यवस्थापन गर्ने जनाएको छ ।
नगरप्रमुखको पत्रअनुसार उक्त जग्गामा विभिन्न व्यक्तिले लामो समयदेखि बसोबास गर्दै आएका छन् । नगरपालिकाले जग्गा अतिक्रमण भएको जनाउँदै पटक पटक खाली गर्न सूचना जारी गरे पनि जग्गा खाली भएको छैन ।
जग्गा आफ्नो नाममा कायम गर्न त्यहाँ बसोबास गर्दै आएका व्यक्तिहरूले सर्वोच्च अदालत र उच्च अदालत जनकपुरमा दायर गरेका रिट निवेदन सम्बन्धित अदालतबाट खारेज भइसकेको नगरपालिकाले पत्रमा उल्लेख गरेको छ ।
नगरपालिकाले यसअघि पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय महोत्तरी र प्रहरी प्रधान कार्यालयलाई सुरक्षा व्यवस्था मिलाइदिन पत्र पठाएको जनाएको छ । ती निकायबाट हालसम्म आवश्यक सुरक्षा व्यवस्था नभएको पत्रमा उल्लेख छ ।





