काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
आज बिहान करिब ८:३५ बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँका लागि आउँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो जिप भैँसेको घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा सुमो चालकसहित १० जना घाइते भएका थिए । घटनालगत्तै प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो । अस्पताल पुर्याइएका घाइतेमध्ये बिहान ९स्२० बजे चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा घाइते भएका अन्य सात जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।





