काठमाडौँ। नागढुंगा-मुग्लिन सडकको घोप्टेभीर खण्डमा मंसिर ५ गतेदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमन रोक्ने निर्णय गरिएको हो।
घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्दा यातायात प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएको प्रशासन कार्यालयले जनाएको छ। थप जोखिम घटाउन सवारी आवागमन रोकेको समयमा जोखिमयुक्त ढुंगा र माटो हटाउने काम गरिने सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जारी गरेको सूचनामा उल्लेख छ।
सडकको अवस्थाबारे थप जानकारी वा समन्वयका लागि प्रशासनले जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको हटलाइन १२३४, नेपाल प्रहरीको १०० वा १०३ र सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ।





