काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदी संरक्षणका लागि काठमाडौँ महानगरपालिकासहित आसपासका १७ नगरपालिकासँग समन्वय गरी आगामी मनसुनअघि नै काम सुरु गर्ने बताएका छन्।
‘काठमाडौँ जलवायु कार्य सप्ताह’लाई सम्बोधन गर्दै श्रेष्ठले नदीको प्राकृतिक बहाव संरक्षण, बाढीको पूर्वसूचना प्रणाली सुदृढीकरण, भूमिगत जल पुनर्भरण र सहरी प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राखेर संघीय सरकारले स्थानीय तहसँग सहकार्य गर्ने बताएका हुन्।
उनका अनुसार जलस्रोत तथा सिँचाइ विभाग र भौतिक पूर्वाधार मन्त्रालयले काठमाडौँ महानगरपालिका तथा नदी प्रणालीसँग जोडिएका आसपासका नगरपालिकासँग मिलेर संरक्षणका कार्यक्रम अघि बढाउनेछन्। नदी व्यवस्थापनलाई प्रशासनिक सीमाभित्र मात्र सीमित गर्न नसकिने भएकाले अन्तरपालिका समन्वय आवश्यक रहेको उनको भनाइ छ।
श्रेष्ठले नदी किनारमा कङ्क्रिटका पर्खाल निर्माण गरेर बहाव नियन्त्रण गर्ने अभ्यासको विकल्पमा प्रकृतिमा आधारित संरक्षण पद्धति अपनाइने बताए। नदीलाई प्राकृतिक रूपमा फैलिन र खुम्चिन सक्ने अवस्था कायम राख्दै विष्णुद्वार, वाग्द्वार तथा नागार्जुन र गोदावरी क्षेत्रका जलस्रोत संरक्षणमा ध्यान दिइने उनको भनाइ छ।
बाढीको पूर्वसूचना वडा र घरपरिवारसम्म पुर्याउने
कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले सम्भावित बाढीको सूचना प्रभावित क्षेत्रका वडा र घरपरिवारसम्म समयमै पुर्याउन पूर्वसूचना प्रणाली विस्तार गरिने बताए।
यसका लागि जल तथा मौसम विज्ञान विभागमार्फत वर्षा मापन, सहरी बाढीको मोडलिङ र पूर्वसूचना प्रणाली विकासमा काठमाडौँ महानगरपालिकासहित अन्य सहरसँग सहकार्य गरिनेछ।
हिमनदी पग्लिने क्रम र जोखिमयुक्त हिमचट्टानको अवस्थाबारे नियमित अनुगमन गर्न वैज्ञानिक, प्राविधिक विज्ञ, अभियन्ता तथा युवालाई सहभागी गराउने योजना पनि उनले सुनाए।
जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढिरहेको उल्लेख गर्दै श्रेष्ठले ४६ दिनभित्र तीनवटा नदी करिडोरमा ठूला ढुंगा र गेग्रानसहित बाढी आएको घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताए। हिमपहिरो र हिमनदी पग्लिने घटनाले पनि जोखिम न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक रहेको उनको भनाइ थियो।
आकाशे पानी संकलन र रैथाने वृक्षरोपणमा सहयोग
सहरी तापक्रम घटाउन र भूमिगत पानीको भण्डार पुनर्भरण गर्न घरघरमा आकाशे पानी संकलन, पानी सोस्न सक्ने पैदलमार्ग निर्माण तथा खुला क्षेत्र संरक्षणका कार्यक्रम अघि बढाइने श्रेष्ठले बताए।
मुख्य सडक किनार र सार्वजनिक खुला स्थानमा रैथाने प्रजातिका रूख रोप्ने कार्यक्रमका लागि काठमाडौँ महानगरपालिकाले उपयुक्त स्थान पहिचान गरेपछि संघीय सरकारले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने उनको प्रतिबद्धता छ।
श्रेष्ठले पछिल्ला चार वर्षमा पुराना ढुंगेधारा अर्थात् हिटी तथा राजकुलो पुनर्जीवित गर्न काठमाडौँ महानगरपालिकाले गरेका कामको प्रशंसा गरे। भूमिगत पानी संरक्षणमा योगदान पुर्याएको भन्दै उनले महानगरका कार्यवाहक प्रमुख र वडाध्यक्षहरूको भूमिकासमेत उल्लेख गरे।
वायु प्रदूषण नियन्त्रणमा विद्युतीय यातायात र स्वच्छ प्रविधिलाई प्राथमिकता
कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले वायु प्रदूषण न्यूनीकरणका लागि विद्युतीय सार्वजनिक यातायात विस्तार, स्वच्छ इँटाभट्टाको प्रयोग र फोहोर जलाउने कार्य नियन्त्रणमा जोड दिने बताए।
नेपालको राष्ट्रिय निर्धारित योगदानअनुरूप प्रदूषण नियन्त्रणका कार्यक्रम अघि बढाइने र वायु गुणस्तरसम्बन्धी तथ्याङ्क सर्वसाधारणले सहजै प्राप्त गर्न सक्ने गरी सार्वजनिक गरिने उनको भनाइ छ।
जाडोयाम तथा तुवाँलोका कारण प्रदूषण बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रत्येक वर्ष अक्टोबर सुरु हुनुअघि नै आवश्यक तयारी पूरा गर्ने योजना पनि उनले सुनाए।
टेकुको बायोग्यास प्लान्ट सञ्चालन र जलवायु वित्त परिचालन
फोहोर व्यवस्थापनलाई ऊर्जा उत्पादनसँग जोड्ने योजनाअन्तर्गत टेकुस्थित बायोग्यास प्लान्ट शीघ्र सञ्चालनमा ल्याउने विषयलाई पनि सरकारले प्राथमिकता दिएको श्रेष्ठले बताए।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र काठमाडौँ महानगरपालिकाबीच भएको समझदारीअनुसार काम अघि बढाउन घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याउन उनले नागरिकलाई आग्रह गरे।
जलवायु अनुकूलनका कार्यक्रमका लागि आवश्यक वित्तीय स्रोत जुटाउन नगर विकास कोषसँग सहकार्य गरिनेछ। प्रस्तावित जलवायु वित्त शिखर सम्मेलनमार्फत हरित बन्ड तथा जलवायु कोषका स्रोत परिचालन गर्ने योजना रहेको उनले जानकारी दिए।
भोटेकोशी क्षेत्रमा आएको विपद्को सन्दर्भ उल्लेख गर्दै श्रेष्ठले विपद्पछिको पुनर्लाभका काममा तत्काल उपयोग गर्न सकिने वित्तीय संयन्त्र आवश्यक रहेको बताए।
सहरीकरणमा भएका कमजोरीबाट सिक्न आग्रह
काठमाडौँ क्षेत्र नम्बर ८ बाट निर्वाचित सांसदसमेत रहेका श्रेष्ठले आफ्नो बाल्यकालमा बागमती र विष्णुमती नदीको पानी पिउन तथा नुहाउन मिल्ने अवस्था रहेको स्मरण गरे।
नदी आसपासका हरिया खेतबारी र चराचुरुंगीको आवाजबीच बितेको बाल्यकाल सम्झँदै उनले अहिले ती नदी प्रदूषित बनेको अवस्थाप्रति चिन्ता व्यक्त गरे।
अव्यवस्थित रूपमा कङ्क्रिटका संरचना विस्तार हुँदा खेतीयोग्य जमिन, पोखरी र खुला क्षेत्र घटेको तथा वर्षाको पानी जमिनमा सोसिने प्राकृतिक प्रक्रिया प्रभावित भएको उनले बताए।
खुला जमिन घट्दा बाढीको जोखिम बढ्नुका साथै सहरी तापक्रम वृद्धि भएको उनको भनाइ छ। धुलो र धुवाँका कारण पुराना मठमन्दिर तथा ऐतिहासिक सम्पदाको स्वरूपसमेत प्रभावित भएको उनले उल्लेख गरे।
तीव्र सहरीकरण भइरहेका अन्य नगरपालिकालाई काठमाडौँको अनुभवबाट सिक्दै नदी, पोखरी र सार्वजनिक खुला क्षेत्र समयमै संरक्षण गर्न उनले आग्रह गरे।
विपद् व्यवस्थापनमा युवाको प्रविधि र परम्परागत ज्ञान जोडिने
जलवायु जोखिम न्यूनीकरणका लागि नयाँ प्रविधिको प्रयोगसँगै परम्परागत जल व्यवस्थापनसम्बन्धी ज्ञानको संरक्षण आवश्यक रहेको श्रेष्ठले बताए।
कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले मोबाइल नेटवर्क उपलब्ध नभएको अवस्थामा समेत विपद्सम्बन्धी सूचना आदानप्रदान गर्न सकिने सञ्चार प्रणाली विकास गरेको उदाहरण दिँदै उनले युवाको सिर्जनशीलताको प्रशंसा गरे।
यस्ता प्रविधिलाई पुराना हिटी, राजकुलो र स्थानीय जलप्रणालीबारे ज्येष्ठ नागरिकसँग रहेको ज्ञानसँग जोडेर उपयोग गर्नुपर्ने उनको धारणा छ।
विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको हिस्सा अत्यन्त कम भए पनि हिमनदी पग्लिने, बाढी र पहिरोजस्ता जलवायुजन्य जोखिम नेपाली नागरिकले भोग्नुपरेको उल्लेख गर्दै उनले जलवायु न्यायको विषयसमेत उठाए।
नदी किनारमा बसोबास गर्ने समुदायको सुरक्षासँगै नदी, पानीका मुहान, वनस्पति, चराचुरुंगी र वन्यजन्तुको प्राकृतिक वासस्थान संरक्षणलाई पनि जलवायु न्यायसँग जोडेर हेर्नुपर्ने उनले बताए।
श्रेष्ठले भविष्यको काठमाडौँलाई हरियालीयुक्त, सुरक्षित र पैदलयात्रीमैत्री सहरका रूपमा विकास गर्नुपर्ने धारणा राखे। ऐतिहासिक टोल र बहालसम्म पैदल पुग्न सकिने व्यवस्था, साइकल लेन, स्वच्छ नदी करिडोर तथा काठमाडौँ आसपासका जंगल र राष्ट्रिय निकुञ्जको पारिस्थितिक सन्तुलन संरक्षणमा उनले जोड दिए।
चोरी भएका ऐतिहासिक मूर्ति फिर्ता ल्याउने, सडक किनारमा वृक्षरोपण गर्ने, बालबालिकाका लागि सुरक्षित सार्वजनिक स्थान बनाउने र ज्येष्ठ नागरिकले सहज रूपमा समय बिताउन सक्ने पार्क निर्माणलाई पनि उनले आफ्नो परिकल्पनामा समेटे।
हरियालीसँगै आधुनिक व्यावसायिक गतिविधि विस्तार हुने र नागरिकले सुरक्षित रूपमा बसोबास गर्न सक्ने काठमाडौँ निर्माणका लागि सबै तहका सरकार तथा नागरिकबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।






