काठमाडौँ । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले सोमबारका लागि तय गरेको सुनुवाइ स्थगित भएको छ।
रिटमा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.लाई अदालतको म्याद तामेल गर्ने प्रक्रिया पूरा नभएकाले सुनुवाइ अघि बढ्न नसकेको हो।
यसअघि सर्वोच्च अदालतबाट केसीका नाममा म्याद पठाइएको थियो। तर, म्यादमा उनको पद प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उल्लेख भएको भन्दै प्रहरी प्रधान कार्यालयले बुझ्न अस्वीकार गरेको थियो।
त्यसपछि रिट निवेदक कार्कीले केसीको पदनाम सच्याउन सर्वोच्च अदालतमा छुट्टै निवेदन दिएका थिए। सोही निवेदनका आधारमा केसीलाई प्रहरी महानिरीक्षकका रूपमा उल्लेख गरी सम्बन्धित निवेदन र आदेशमा संशोधन गरिएको थियो।
पदनाम सच्याएपछि पनि म्याद तामेलीको प्रक्रिया बाँकी रहेकाले सोमबार सुनुवाइ हुन नसकेको हो।
सर्वोच्च अदालतले रिटको अर्को सुनुवाइका लागि नयाँ मिति निर्धारण गरिसकेको छैन।






