काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ।
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाह र मोदीबीच भएको वार्तामा दुवै देशका मन्त्री, कूटनीतिक अधिकारी तथा प्रधानमन्त्रीका सल्लाहकारहरू सहभागी थिए।
नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार र राजनीतिक सल्लाहकार असीम शाह सहभागी भएका थिए।
त्यसैगरी, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेसहितका अधिकारीहरू पनि वार्तामा सहभागी थिए।
भारतीय प्रतिनिधिमण्डलमा विदेश मन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र राज्यमन्त्री जितिन प्रसाद सहभागी भएका थिए।
भारतीय प्रतिनिधिमण्डलमा प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय डा. पी. के. मिश्रा र शक्तिकान्त दास पनि सहभागी थिए।
त्यस्तै, भारतीय विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र अतिरिक्त सचिव मनु महावरसहितका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
दुवै देशका प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको हो। वार्तामा भएका छलफल तथा निष्कर्षबारे भने केही सार्वजनिक गरिएको छैन।






